तपाईँ सुन्दै हुनुहुन्छः

चैत २७ गतेदेखि चतरा धाममा कुम्भ मेला हुने 

काठमाडाैँ । यही चैत्र २७ गतेदेखि प्रसिद्ध तीर्थस्थल चतरा धाममा कुम्भ मेला हुने भएको छ । चैत्र २७ गतेदेखि सुरु हुने १२ बर्षे कुम्भ मेला वैशाख २८ गतेसम्म एक महिना लाग्ने मेला तयारी मुल आयोजक समितिले जनाएको छ ।

कुम्भ मेला तयारी मुल आयोजक समितिले आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा मूल समितिका संयोजक नेपाल सरकारका सचिव अर्जुन पोखरेलले धार्मिक पर्यटन प्रवर्द्धनबाट मुलुकको समृद्धिमा सहयोग पुग्ने भएकाले सरकारले नै चतरा धाममा आयोजना हुने कुम्भ मेलाको विशेष व्यवस्थापन गर्न लागेको बताउनुभयो ।

नेपाल सरकारका सचिव पोखरेलले मेला भर्न आउनेहरूको सुरक्षा र सुविधालाई  केन्द्रबिन्दुमा राखेर तयारीको कामहरू भइरहेको उल्लेख गर्दै चतरा धाम कुम्भ मेलामा सहभागी भई आनन्द तथा लाभ लिन  सबैमा आग्रह पनि गर्नुभयो ।

चतरा धाममा मेलाबाट तिर्थालुले अधिकतम आनन्द लिन पाउने गरी तिनै तहको सरकारको समन्वय र सहकार्यमा चतरा धाम र बराह क्षेत्रमा  व्यवस्थापनको काम भइरहेको सचिव पोखरेलले बताउनुभयो ।

कार्यक्रममा जगत् गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले बिश्वप्रसिद्ध देवभूमिका रुपमा रहेको नेपालमा धार्मिक पर्यटनको सम्भावना बढी रहेकाले त्यसबाट लाभ लिन चतरा धाम कुम्भ मेला एउटा महत्वपूर्ण कणीकाका रुपमा रहेको बताउनुभयो ।

बालसन्त मोहनशरण देवाचार्यले कुम्भमेलामा भारत का विभिन्न तिर्थस्थलहरुबाट समेत साधुसन्तको सहभागिता हुने र महिनाभर हुने मेलामा २ करोड बढी भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको पनि बताउनुभयो ।

चैत्र २७ गतेदेखि सुरु हुने १२ बर्षे कुम्भ मेलाको व्यवस्थापनका लागि केन्द्रीय स्तरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा केन्द्रीय मुल फोकल प्वाइन्टको गठन गरिनुकासाथै प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा प्रदेश समन्वय इकाई गठन गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button