तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिलाहरूको आर्थिक जीवनयापनमा सुधारसँग समाज परिवर्तनमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

जिल्ला सहकारी संघ मोरङद्वारा विराटनगरमा आज आयोजित ६७ औँ राष्ट्रिय सहकारी दिवस–२०८० को उद्घाटन गर्दै उहाँले महिलालाई स्वरोजगार, आयआर्जन, वित्त व्यवसायी, वित्त साक्षर बनाउने कार्यमा सहकारीले उल्लेखनीय कार्य गरेको बताउनुभयो ।

सहकारीमा आबद्ध भएपछि साहु महाजनको चर्को ब्याजबाट सर्वसाधारणहरू मुक्त भएको चर्चा गर्नुहुँदै उहाँले सहकारीकर्ताले आफ्नो कर्ममा इमान्दार, निष्पक्ष र पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मुलुकको अर्थतन्त्रमा सुधार आउने गरी सहकारीले कार्य गर्न सके मुलुकमा संवृद्धि कायम हुने बताउनुभयो । उहाँले सहकारी सञ्चालकले आफ्नो सेवा पारदर्शी ढङ्गले जनताको आर्थिक समृद्धि कायम गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

नेकपा एमाले कोशी प्रदेशका प्रमुख घनश्याम खतिवडाले ग्रामीण क्षेत्रमा अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

आयोजक समितिका अध्यक्ष डा डिल्ली पोखरेल, राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले मुलुकमा रहेका केही सहकारीको कारण यो क्षेत्र बदनाम भएकोले यसको समाधानका लागि राष्ट्रिय सहकारी ऐन कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो ।

मोरङ जिल्लामा एक हजार ४० सहकारीमा चार लाख ४३ हजार सदस्य आबद्ध छन् भने त्यसबाट २९ अर्ब बराबरको आर्थिक कारोबार हुने गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले सहकारी अभियन्ता रामचन्द्र गौतम र कृष्णकुमारी गुरुङलाई कदर पत्रद्वारा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button