तपाईँ सुन्दै हुनुहुन्छः

महिला उद्यमशीलतासम्बन्धी प्रदर्शनी मेलाको आयोजना हुँदै

विराटनगर । महिला उद्यमीद्वारा उत्पादित वस्तुहरूको प्रवर्द्धन एवं प्रचार प्रसार गर्ने उद्देश्यले विराटनगरमा महिला उद्यमशीलतासम्बन्धी प्रदर्शनीको आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिको आयोजनामा विराटनगरस्थित अतिथि सदनमा प्रदर्शनी आयोजना हुन लागेको हो ।

समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरि यही चैत–२३ र २४ गते प्रदर्शनी आयोजना हुन लागेको जानकारी गराएको हो । दुई दिनसम्म चल्ने सो प्रदर्शनीमा महिला उद्यमीद्वारा उत्पादित र निर्मित ६० वटा स्टल रहने छन् ।

प्रदर्शनीको २० हजार बढीले अवलोकन गर्ने र झण्डै २५ लाख बराबरको कारोबार हुने प्रदर्शनीका संयोजक रचना राठीले बताउनुभयो । प्रदर्शनीमा कपडा तथा उपभोग्य सामान, कृषिजन्य तथा जडीबुटी, घरेलु उद्योगबाट निर्मित सामान, हस्तकलाका सामान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी सामानका स्टल रहने छन् ।

प्रदर्शनीमा कोशी प्रदेशका सङ्खुवासभा, पाँचथर, धनकुटा, ताप्लेजुङ, मोरङ, सुनसरी, झापा लगायत हुम्ला तथा जुम्ला गरी १० जिल्लाका व्यवसायीद्वारा उत्पादित सामाग्री राखिने संयोजक राठीले बताउनुभयो । प्रदर्शनी आयोजना गर्न कोशी प्रदेश सरकार तथा विभिन्न वित्तीय सङ्घसंस्थाले सहयोग पुर्याएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्घाटन गर्नुहुने र प्रदर्शनीमा उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले कोशी प्रदेशका महिला उद्यमीलाई हौसला र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको बताउनुभयो । अतिथि सदनको राधा मण्डपमा आयोजना हुने सो प्रदर्शनी बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button