तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल एक असल शिक्षक अनि साथी !

  म रेडियो नेपालको साथी हुँ, हाम्रो मित्रता वषौँपहिलेआवाजका तरङ्गमार्फत जोडिएको थियो । सायद मजस्तै अरू पनि हुनुहुन्छ होला, जसले रेडियो नेपाललाई बाल्यकालको साथी मान्नुहुन्छ । कतिले बुढेसकालको साथी पनि मान्नुहोला, कतिले युवा अवस्थाको साथी पनि मान्नुहोला । खोज्दै जाने हो भने रेडियो नेपाल सबैको साथी भएको पाउन सकिन्छ । 

म बुझ्ने भएदेखि नै रेडियो नेपाल सुन्न थालेको हुँ । रेडियो नेपालको र मेरो साइनो त्यही बेला जोडिएको थियो जतिबेला म रेडियो नेपाल सुनेर बुझ्न सक्ने भएको थिए । साँझ ४ बजे स्कुलको छुट्टी हुन्थ्यो, मेरो घर स्कुलको नजिकै थियो । म घर पुग्नेवित्तिकै रेडियो नेपाल खोलेर निकै उत्सुकताका साथ सुन्ने गर्थे । 

आफ्नो आफ्नो उमेर र रुचि अनुसार मानिसलाई विभिन्न कार्यक्रम मन पर्न सक्छन् । मेरो उमेर र रुचि अनुसार होला मलाई त्यतिबेला गीतसङ्गीत एवं ज्ञानवर्धक र शिक्षामूलक कार्यक्रम निकै मन पर्थे । ऊ बेलाका मेरा केही मनपर्ने कार्यक्रम थिए, कार्यक्रम छिटो छिटो मिठो, खालि समय र साथीसँग मनका कुरा । 

मलाई सम्झना छ, आजभन्दा ३० वर्ष अगाडी जब म सानै थिए । गाउँमा मेरो छिमेकीको घरमा ठूलो रेडियो थियो । सबेरै ५ बज्न अगाडि नै रेडियो नेपालको धुन बज्न सुरु हुन्थ्यो । रेडियो घरको ढोकानेरै छेउमा राखिएको हुन्थ्यो । ठूलो आवाज पारिएको हुन्थ्यो । कयौँ पल्ट मेरो निन्द्रा त्यो रेडियोको सुमधुर धुनसँगै खुल्थ्यो । त्यतिबेला त्यो आवाज लगभग टोलभरि नै सुनिन्थ्यो र बाटोमा हिँड्ने अरूले पनि सुन्ने गर्थे  । 

मैलै बचपनदेखि नै रेडियो नेपाल सुन्दै आएको छु । पछि म ६÷७ कक्षामा पढ्ने बेलासम्ममा मैलै कैलालीबाट हुलाकमार्फत रेडियो नेपालको विभिन्न कार्यक्रममा पठाएको पत्रसमेत प्रसारण भएको थियो । रेडियो नेपालबाट पत्र प्रसारण हुँदा मलाई त्यतिबेला औँधी खुशी लागेको थियो र त्यहि बेला मैले कल्पना गरेको थिए रेडियो नेपालबाट त्यसरी नै बोल्ने, समाचार र कार्यक्रम सञ्चालन गर्ने । त्यो बोल्ने इच्छा अहिले पूरा भएको छ । यो सँगै विगत ७ वर्षदेखि मैले रेडियो नेपालमा निरन्तर विभिन्न सिफ्टमा काम गरिरहँदा धेरै कुरा सिक्ने अवसर पाएको छु ।

जसरी बाल्यकालमा स्कुलमा पढाउनुहुने शिक्षकलाई बिर्सन सकिन्न, त्यसरी नै रेडियो नेपाललाई बिर्सन सकिन्न । रेडियो नेपालले ज्ञान र शिक्षाको ज्योति छर्ने कामसमेत गर्ने भएकाले यस मानेमा रेडियो नेपाललाई एक असल शिक्षकका रुपमा मान्न सकिन्छ । रेडियो नेपालसँगका अनुभव र अनुभूति अग्रजहरूले कहिलेकाहीँ सुनाउनुहुन्छ दन्त्य कथा सुनेझैँ लाग्छ, मन प्रफुल्ल हुन्छ, मनमा श्रद्धा जागेर आउँछ, आहा! रेडियो नेपाल भन्न मन लाग्छ । 

रेडियो नेपाल हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो, हाम्रो मौलिकता हो । रेडियो नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त विशेषता बोकेका हामी नेपालीलाई एकताको सुत्रमा बाँध्ने सञ्चार माध्यम हो, नेपाली जनता र सरकारलाई जोड्ने सम्बन्ध सेतु हो । 

विविध संस्कृतिको रङ्ग, चाडपर्वको उमङ्ग, पूर्व मेची देखी पश्चिम महाकाली आसपासको तरङ्ग सबै जातजाति धर्म, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै अनेकतामा एकताको बिगुल फुक्ने नेपाली आवाज हो रेडियो नेपाल । रेडियो नेपालमा सिङ्गो नेपालको प्रतिबिम्ब झल्किन्छ । 

नेपाली कला संस्कृति प्रवद्र्धन र गीतसङ्गीतको जगेर्नामा रेडियो नेपालले गरेको योगदान अतुलनीय छ । नेपालमा प्रजातन्त्रको स्थापना र रेडियो नेपालको सुरुवात एकै समयमा भएको थियो । २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भयो भने  सोही वर्ष चैत्र २० गते रेडियो नेपालको औपचारिक स्थापना भयो । तत्कालीन समयमा देशमा प्रजातन्त्रको स्थापनाका लागि रेडियो नेपाल अर्थात् त्यतिबेलाको प्रजातन्त्र रेडियोको योगदान कसैले बिर्सन सक्दैनन् । 

देशको राजनीतिक परिवर्तनसँगै शासन व्यवस्था परिवर्तनमा समेत रेडियो नेपाल अविछिन्न रुपमा जुटेको इतिहास छ । वर्तमानमा रेडियो नेपालले लोकतन्त्र प्रवद्र्धन र सुशासन कायम गर्नमा अग्रणी भूमिका निभाइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button