तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

वीरगंज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले माओवादीको गठबन्धन सरकारले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताउनु भएको छ ।

बाराको कलैयामा आज आयोजित नेकपा एमाले बाराको ११ औ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमाले पहिला देखि नै आफ्नो देशको भूमि अतिक्रमण हुन नदिने कुरामा स्पष्ट रहेको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक भारतमाथि मात्र निर्भर हुँदा समस्यामा पर्न सक्ने भन्दै चीनसँगको सिमाना जोडिएका नाकाहरू निर्बाध सञ्चालनका लागि सरकार लाग्नु पर्नेमा जोड दिनुभयो । 

उहाँले अहिलेको राजनीतिक समीकरणले मिसन ८४ लाई सफल बनाउन सहयोग गर्ने स्पष्ट पार्दै काँग्रेस र माओवादी सम्मिलित गठबन्धनले मुलुकलाई अस्थिरता तर्फ धकेलेको आरोप लगाउनु भयो ।

उहाँले मुलुकलाई स्थिरता तर्फ लैजान एमाले सहितको वर्तमान राजनीतिक समीकरण निर्माण भएको स्पष्ट पार्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ निजगढ फास्ट ट्रयाकको काम तीव्र गतिमा अगाडि बढाइने दाबी समेत गर्नु भयो ।

कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेकपा एमाले सम्मिलित वर्तमान सरकारले मुलुकको समृद्धिका लागि ठोस कार्यक्रम सहित सरकार अगाडी बढ्न लागेको बताउनु भयो । 

उहाँले वर्तमान सरकारको प्रमुख एजेण्डा समृद्ध नेपाल र सुखी नेपाली भएको बताउँदै यसका लागि तिनै तहका सरकारको सामूहिक प्रयास हुनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button