तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताको सफल कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

काठमाडौँ । संवैधानिक व्यवस्था अनुसार सङ्घीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सङ्घीयताप्रति अपनत्वको भावना जागृत गर्ने गरी काम गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा आज सम्पन्न भएको दक्षिण एसियामा सार्वजनिक नीति तथा शासनसम्बन्धी पाचौं सम्मेलनमा सरोकारवालाहरुले सङ्घीयताले तल्लो तहका जनतासम्म राज्यको सेवा प्रवाहलाई सहज ढंगले पुर्‍याए पनि यसप्रति नकारात्मक धारणाको विकास भइरहेकाले त्यसलाई चिर्दै जनतालाई राहतको अनुभूति हुने गरी काम गर्न तीनै तहका सरकार अघि बढ्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले उत्पादन र रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राखेर तीनै तहका सरकारले एक अर्कासँग समन्वय गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै लोकतन्त्रको अनुभूति जनताले गर्न पाउनुपर्नेमा जोड दिनुभयो । सांसद पौडेलले वर्तमानमा अनावश्यक रुपमा रहेका केही राजनीतिक संरचनाहरूलाई घटाएर भए पनि जनतामा सङ्घीयताप्रति देखिएको निराशालाई आशामा परिणत गर्नैपर्ने बताउनुभयो । उहाँले संसदले संविधानको पूर्ण कार्यान्वयनका लागि सयौँ कानुनहरू बनाउन बाँकी रहेका कारण सङ्घीयताको अभ्यासमा कठिनाइ देखिएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव हुँदा प्रदेशको औचित्यमाथि प्रश्न उठिरहेकाले आवश्यक कानूनको निर्माण गरी सङ्घीयताको वास्तविक अनुभूति जनतालाई दिलाउनुपर्ने बताउनुभयो ।

पूर्व सभासद् कृष्णप्रसाद सापकोटाले सङ्घीयतासँगै मुलुकमा समावेशिताको अभ्यास बढेको र विकासको अधिकार स्थानीय स्तरसम्म पुगेको उल्लेख गर्दै ‘केही भएन’ भन्नु उपयुक्त नभएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहहरुले जनताको चासोलाई सम्बोधन गर्दै गएकाले तीनै तहका सरकारबीच समन्वय बढाई यसलाई प्रभावकारी ढंगले अघि बढाउँदा जनताले सङ्घीयताको थप लाभ लिन सक्ने बताउनुभयो ।

संविधानविद् डा. विपीन अधिकारीले सङ्घीयताले जनतालाई एकदमै नजिकबाट सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी बनाएर अघि बढ्न सके जनतामा संघीयताप्रतिको नकारात्मक भावना हटाउन सकिने बताउनुभयो ।

कार्यक्रममा समारोहका अध्यक्ष एवं नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले विश्वका असल अभ्यासहरूबाट सिक्दै नेपालमा सङ्घीयताको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा नेपालसहित सार्क मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button