तपाईँ सुन्दै हुनुहुन्छः

एसिया कपको उपाधि इजिप्टका इस्माइललाई

पोखरा । पोखरामा शनिबार सम्पन्न भएको सातौँ संस्करणको एसिया कप ट्रायथलन प्रतियोगिता २०२४ मा पुरुषतर्फ इजिप्टका सिफेल्डिन इस्माइल र महिलातर्फ इजरायलकी इडा हेनसदोतिरले उपाधि जित्नुभएको छ ।

पोखराको फेवातालमा भएको ७ सय ५० मिटर पौडी, लेक साइडमा भएको २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको निर्धारित दुरी इस्माइलले ५६ मिनेट ४५ सेकेण्डमा पार गर्दै उपाधि जित्नुभयो । त्यसै गरी निर्धारित दुरी ५७ मिनेट २० सेकेण्डमा पार गर्दै अष्ट्रेलियाका ब्रुकलिन हेनरी दोस्रो र हेनरी भन्दा १० सेकेन्डले पछि पर्नु भएको जापानका मित्सुहो मोचीजुकी तेस्रो हुनुभयो ।

त्यसै गरी महिला तर्फको एसिया कप ट्रायथलनमा इजरायलकी इडा इडा हेनसदोतिरले १ घन्टा ६ सेकेण्डमा दुरी पार गरी उपाधि जित्नुभयो । गाम्बियाकी मावमी लिजामाले १ घन्टा ४२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र उक्त दुरी १ घन्टा ४ मिनेट १८ सेकेण्डको समय पार गर्दै उज्बेकिस्तानकी एलिना खाकीमोभा तेस्रो हुनुभयो ।

नेपाल ट्रायथलन सङ्घको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगिता अन्तर्गत दशौं संस्करणको साउथ एसिया ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ भारतका आदर्श मुरलीधरनले उपाधि जित्नुभयो । उहाँले १ घन्टा २ मिनेट ३ सेकेण्डमा उक्त दुरी पार गर्नुभएको हो । उक्त दुरी १ घण्टा ३ मिनेट २६ सेकेण्डमा पार गर्दै भारतकै कौशिक विनय दोस्रो हुनुभयो । प्रतियोगितामा नेपालका विपिन कटुवाल तेस्रो तथा प्रविन थारु पाचौं हुनुभयो ।

त्यसैगरी महिलातर्फ भारतकी मानसी मोहिती उपाधि हात पार्न सफल हुनुभयो । उहाँले निर्धारित दुरी १ घन्टा ७ मिनेट ५१ सेकेण्डमा पार गर्नुभयो । नेपालकी श्रेवी महर्जन निर्धारित दुरी १ घन्टा ११ मिनेट ४५ सेकेण्डमा पार गर्दै दोस्रो हुनुभयो । १ घन्टा २१ मिनेट १३ सेकेण्डमा उक्त दुरी पार गर्दै नेपालकै शोभा बलामी तेस्रो हुनुभयो ।

एसिया कप ट्रायथलन अन्तर्गत पुरुषतर्फ ३८ र महिलातर्फ २४ खेलाडीहरूले सहभागिता जनाएको नेपाल ट्रायथलन संघ गण्डकी प्रदेशका अध्यक्ष एवं व्यवस्थापन कमिटी पोखराका संयोजक डिल्लीराज सुवेदीले बताउनुभयो ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइराला, उपाध्यक्ष सुमन देवकोटा लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री खगराज अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button