तपाईँ सुन्दै हुनुहुन्छः

मार्सी फल्ने विश्वकै अग्लो स्थान जुम्लामा रोपाई महोत्सव 

जुम्ला । विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ छुमज्युलोमा रोपाई महोत्सव गरिएको छ । मार्सीधानको संरक्षण, उत्पादन वृद्धि तथा किसानलाई मार्सीधान खेतीमा आकर्षित गर्नेमा रोपाई महोत्सव गरिएको हो ।  

कृषि विकास कार्यालयको आयोजनामा छुमज्युलोमा मार्सीधानको संरक्षण,उत्पादन वृद्धि तथा खेतीमा किसानलाई हौस्याउन वर्षेनी रोपाई महोत्सव हुँदै आएको छ । बिहीबार जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा छुमज्युलामै सरोकारवालाले रोपाई महोत्सव मनाएका हुन् । 

किसानको निष्क्रियताले माग र महत्व बढेपनि पातारासी ३ छुमज्युलोमा मार्सीधान खेती घट्दै गएकाले मार्सीधानको संरक्षण  र खेती विस्तारमा ध्यान दिनु पर्नेमा सरोकारवालाको जोड छ । । खेती गर्ने समय जेठमा अधिकांश महिला पुरुषहरू पाटनतिर जडीबुटी सङ्कलन गर्न जाने र खेतीमा चासो नदिने समस्याले मार्सीधान सँगै अन्य रैथाने बालीको उत्पादन घट्दै गएको हो । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मार्सीधान सिंजा सभ्यता हुँदै जुम्लाको ऐतिहासिक महोत्वसंग जोडिएकोले मार्सीको खेती विस्तार तथा उत्पादन वृद्धिमा लाग्नु पर्ने बताउनुभयो । मार्सीधानको संरक्षण तथा किसान आकर्षित गर्ने खालका नीति निर्माणमा जुम्लाका आठै पालिकाले प्राथमिकता दिनुपर्ने प्रअिज घिमिरेको भनाई छ । 

कर्णालीका ४० पर्यटकीय गन्तव्यभित्र सूचीकृत भएको, विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने छुमज्युलोमा पछिल्लो समय मार्सीधान खेती घट्न थालेपछि खेतीमा किसानको आर्कषण सँगै उत्पादन बढाउन तथा खेती विस्तार गर्न रोपाई महोत्सव गरिँदै आएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । 

उहाँले भन्नुभयो,‘छुमज्युलो विश्वकै अग्लो स्थानमा धानखेती हुने क्षेत्रका रूपमा गिनिज बुकमा समेत रेकर्ड कायम भएको छ । सदरमुकामबाट सबै सरोकारवाला छुममा पुगेर रोपाई महोत्सव गर्नुको अर्थ नै किसानलाई खेतीमा प्रेरित गर्ने,मार्सीधानको संरक्षण तथा प्रवर्द्धन गर्ने हो । अझै खेतीमा आर्कषण नहुँदा छुमज्युलो बाँझिदै गएको छ । तर मार्सीधान,स्याउ,सिमि,ओखर लगायतका रैथाने बालीको संरक्षण र उत्पादन बढाउने हाम्रो प्रयास जारी छ ।’ 

मार्सीधानको संरक्षणका लागि कृषि विकास कार्यालयले वर्षेनिक महोत्सव गर्नुका साथै आवश्यक मल बिउँ, सिप, प्रविधि लगायतको सहयोग गर्दै आएको छ । 

समुद्री सतहदेखि २ हजार ८५० मिटर उचाइमा अवस्थित छुमचौर ज्युलो विश्वकै अग्लो स्थानमा धान फल्ने एकमात्र क्षेत्र हो । उक्त ज्युलो ३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ एग्रो टुरिजमको प्रचुर सम्भावना रहेको छ । तर खेती प्रति किसानको घट्दो आकर्षणले खेती नै लोप हुने अवस्था पुगेकोले संरक्षणमा जुट्नु पर्ने कार्यालय प्रमुख देवकोटाको भनाई छ । 

करिब ३६ हेक्टरमा फैलिएको छुमज्युलोबाट किसानको निष्क्रियता झण्डै ७० प्रतिशत भाग बाझिँदै छ । हरेक वर्ष हुने रोपाई महोत्सव,जिल्लाका सरोकारवालाको भेला र कृषि कार्यालयको पृष्ठपोषणले मार्सीधान खेती गर्न हौसला मिलेको किसान कलिमान महतारा बताउनुहुन्छ  । छुम ज्युलोमा २०१४ सालदेखि धानखेती सुरु भएको हो । 

महतारा भन्छन्,‘२०२१, ०२८ र २०३५ सालमा रोपनी दर्ता भएको थियो । २०३५ मा अन्तिम रोपनी दर्ता भएपछि विश्वकै अग्लो स्थानमा मार्सी फल्ने क्षेत्रका रूपमा छुमचौर ज्युलो गिनिज बुकमा रेकर्ड कायम भएको हो । अहिले पुस्ताले वास्ता नगरेपनि पुरानो पुस्ता मार्सी खेतीमै निर्भर छ ।’

पातारासी–३ मा पर्ने छुमगाउँका २६० र हुरी गाउँका १०४ गरी ३६४ घरधुरीका किसानले छुमज्युलो भोगचलन गर्दै आएका छन् ।

यद्यपि, पातारासी गाउँपालिकाले करिब ११ करोड खर्चेर  छुमचौर ज्युलोको दिगो विकास तथा मार्सीधान संरक्षणका लागि (डिपिआर) समेत तयार गरेको छ । डिपिआरमा छुमज्युलोमा सिँचाइ आयोजना, मन्दिर, होमस्टे २ वटा, हेलिप्याड र ४ वटा गेड निर्माण गर्ने उल्लेख छ ।  तर संघ प्रदेशबाट छुमचौर ज्युलाको संरक्षणमा बजेट विनियोजन नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button