तपाईँ सुन्दै हुनुहुन्छः

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्ने कानून आवश्यक भएको बताउनुभएको छ ।

शनिबार पोखरामा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको नीति निर्माणकर्ताहरूसँग वन नीतिमा छलफल कार्यक्रममा उहाँले चैत, वैशाख महिनामा देशका अधिकांश ठाउँमा विभिन्न बहानामा आगलागी हुने गरेकोले यसबाट जनधनको क्षतिसहित वातावरणमा ठुलो असर परेको भन्दै डढेलो रोकथाम गर्न कडा कानून ल्याउनुपर्नेमा जोड दिनुभयो ।

जानेर वा नजानेर वन जङ्गलमा डढेलो लगाउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न समस्या देखिएको भन्दै उनीहरुलाई कारबाही गर्नको लागि संघीय ऐनमा नै जन्मकैदको व्यवस्था गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ थियो ।

केही अधिकार सङ्घबाट प्रदेशमा आई नपुगेका कारण समेत समस्या भएको उहाँको गुनासो थियो । संघीय ऐनमा नै डढेलो लगाउनेलाई कडा कारबाही व्यवस्था गर्नसके डढेलोका कारण भएको क्षति तथा वातावरणीय प्रदूषण नियन्त्रण गर्न सहज हुने उहाँले सुनाउनुभयो ।

अन्नपूर्ण संरक्षण आयोजना, मकालु संरक्षण आयोजना, राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष लगायतका आयोजना प्रदेशमा हस्तान्तरण हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button