तपाईँ सुन्दै हुनुहुन्छः

यातायात कार्यालय धनगढीद्वारा रु ५१ करोड राजश्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

यातायात कार्यालयले चालु आव २०८०/८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट रु ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिनुभयो ।

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी रु ४० करोड २८ लाख ५२ हजार एक सय ७३ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु १९ हजार नौ सय राजश्व सङ्कलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु १० करोड ६० लाख ७२ हजार नौ सय आठ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट रु ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु ४५ लाख छ हजार पाँच सय २५ राजश्व सङ्कलन गरेको छ । 

  यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम रु एक लाख १८ हजार आठ सय रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताउनुभयो । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजश्व शीर्षकबाट  रु ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजश्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।

 जस अन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी रु ४७ करोड १७ लाख ७२ हजार एक सय ४४ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट रु.२० हजार राजश्व सङ्कलन गरेको थियो । यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु १५ करोड ४२ लाख ७६ हजार सात सय २५, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट रु. एक करोड २२ लाख छ हजार ५० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु ९ लाख ९२ हजार १५ राजश्व सङ्कलन गरेको छ ।

 यस आर्थिक बर्षमा बेरुजु रकम रु १ लाख ६३ हजार चार सय ८० रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताउनुभयो । यस्तै कार्यालयले आर्थिक बर्ष २०७८/७९ मा विभिन्न राजश्व शीर्षकबाट रु ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ राजश्व सङ्कलन गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button