तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीका ज्येष्ठ सदस्यलाई जनसचेतन आजीवन सहारा भत्ता

दोलखा । देश भरका सहकारी संस्थाहरू क्रमशः विवादित बन्दै जाँदा दोलखाका सहकारी संस्थाहरूले भने सदस्यहरु प्रत्यक्ष लाभान्वित हुने विभिन्न लोकप्रिय कार्यक्रम गरिरहेका छन् । 

दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको देशभरिकै उत्कृष्ट मध्येको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ७५ वर्ष उमेर पुगेका सदस्यहरूलाई मासिक पाँच सय रुपैयाँको दरले जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको छ ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले नाफा रकमबाट १३ वर्ष अघि २०६७ सालदेखि जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको संस्थाका अध्यक्ष हेमन्त चौलागाँइले बताउनुभयो । 

‘आजको बचत, भोलिको भविष्य’ भन्ने सहकारी संस्थाहरूको नारा अनुसार ढल्कँदो उमेरमा सहकारी मेरो सहारा छ भन्ने भरोसा बनोस् भनेर जनसचेतन आजीवन सहारा भत्ता सुरु गरिएको अध्यक्ष चौलागाईको भनाई छ । 

यो भत्ता प्राप्त गर्न कुनै अतिरिक्त शुल्क नलाग्ने तर ६० वर्ष उमेर पुग्नु अगावै सहकारी संस्थाको सदस्य भएको र २० हजारसम्मको सेयर तथा ३० हजारसम्म बचत रहेको वा सेयर रकम कम भए पनि ५० हजारसम्म बचत रहेको सदस्यहरूलाई जनसचेतन आजीवन सहारा भत्ता उपलब्ध गराइने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले बताउनुभयो । 

प्रत्येक तीन/तीन महिनामा उपलब्ध गराइने यो भत्ता माघ महिनामा एक सय १२ जनाले प्राप्त गरेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताउनुभयो ।

२०५० साल असोज २२ गते ३४ जनाले सुरु गर्नुभएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा हाल महिला १४ हजार पाँच सय ८९ जना र पुरुष १३ हजार दुई सय ३३ जना गरी २७ हजार आठ सय ८८ जना सेयर सदस्य तथा १० हजार छ सय ५२ जना बाल सेयर सदस्य रहेका छन् । 

संस्थामा फागुन मसान्तसम्म कुल बचत एक अर्ब ८४ करोड २३ लाख ७१ हजार चार सय ३५ रुपैयाँ र कुल लगानी एक अर्ब ७५ करोड ४६ लाख ९२ हजार सात सय ८५ रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताउनुभयो । त्यसैगरी संस्थाको सेयर पुँजी १६ करोड ६३ लाख ९७ हजार एक सय रुपैयाँ र कुल सम्पत्ति दुई अर्ब ५२ करोड एक लाख ३१ हजार चार सय १७ रुपैयाँ रहेको दाहालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button