तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा म्याद गुज्रेका सामान नष्ट 

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानीका पसलहरूमा म्याद गुज्रेका सामान भेटिएको छ। 

बजार अनुगमनका क्रममा अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हो।

चिसापानी क्षेत्रका १२ वटा पसलहरूमा अनुगमन गर्दा ४ वटा पसलमा म्याद गुज्रेको सामान पाइएको र ८ वटा पसलको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, भेरी कर्णाली किराना स्टोरमा ७ हजार २६० मूल्य बराबरको म्याद गुज्रिएका कोल्ड ड्रिंक्स, भुजिया, सम्राट एंड लक्की किराना पसलमा म्याद गुज्रेको दुई हजार मूल्य बराबरको सोन पापडी मिठाई भेटिएको थियो ।

यस्तै दीपक किराना पसलमा १ हजार ५ सय मूल्य बराबरको म्याद गुज्रेको कोल्ड ड्रिंक्स र विवेक किराना स्टोरमा म्याद गुज्रेको ४ सय मूल्य बराबरको जुस भेटिएको थियो। 

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायहरू समेतको सहभागितामा बैजनाथ गाउँपालिकाको चिसापानी क्षेत्रमा बजार अनुगमन गरिएको थियो। बजार अनुगमनमा भेटिएका म्याद गुज्रेका सामानहरू नष्ट गरिएको बाँके प्रशासनले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button