तपाईँ सुन्दै हुनुहुन्छः

जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्रीको आह्वान 

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न  निजामती कर्मचारीहरूलाई आह्वान गर्नु भएको छ ।
निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गर्नु भएको हो । कर्मचारीहरू प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जबाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने भनाइ मुख्यमन्त्री आचार्यको छ ।
हरेक क्षेत्रमा पारदर्शिता, जबाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ । कर्मचारीले दिने सेवामा यी विषय महत्त्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ, उहाँले भन्नुभयो  कर्मचारी प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिक मैत्री, सुशासन र जबाफदेही युक्त बनाउन जरुरी छ ।  यस्तै सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले हुने कामहरूलाई पनि कानुनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
छिटोछरितो सेवाको आवश्यकता छ । तर, हामी हुने कामलाई पनि कानुको शिरानी हालेर, कानुनको आड लिएर कतिपय गाँठोहरू आफै पार्ने गर्छौं, उहाँले भन्नुभयो ,म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हामीले कानुनको गाँठो पारेर, त्यो शिरानी हालेर जनसेवा हुन सक्दैन । यदि कानुन गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसको निकास खोज्न तिर लाग्न जरुरी छ ।
मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको धारणा राख्नु भयो । मैले धेरै ठाउँमा देख्ने गर्छु । निकास खोज्न भन्दा बल्झाउनेतिर जाने जुन खालेको हाम्रो परिपाटी को विकास भएको छ, यसको अन्त्य हुन जरुरी छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो । प्रदेश सरकार निजामती कर्मचारीहरूको हौसला र उत्साह बढाउन तयार छ । त्यहीँ अनुसार निजामती सेवा ऐनहरूमा वृत्तिविकासका अवसरहरू समावेश छन् ।
यस्तै प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोक सेवा आयोग मार्फत झण्डै २ हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी सरकारले गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिनु भएको थियो । निजामती कर्मचारी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button