तपाईँ सुन्दै हुनुहुन्छः

कैदी फरार भएपछि छानबिन गर्न चार सदस्यीय समिति गठन

झापा । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । 

भद्रपुर नगरपालिका–५ घर भएका २४ वर्षीय जीवन साह शनिबार राति प्रहरीलाई छक्याएर अस्पतालबाट फरार भएका थिए । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो । 

छातीमा समस्या भएपछि साहलाई भदौ २५ गते मेची प्रादेशिक अस्पताल भद्रपुर लागिएको थियो । उनलाई मेची प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । उनी सोही अस्पतालबाट प्रहरीलाई छक्याएर फरार भएका थिए । 

साहको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार धनेश्वर यादव, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राई खटिएका थिए । उनीहरूलाई साहकी श्रीमतीले मादकपदार्थ सेवन गराएको र प्रहरीलाई छक्याएर साह श्रीमतीसहित स्कुटर लिएर अस्पतालबाट फरार भएको अस्पतालको सिसी टिभी फुटेजमा देखिएको छ । 

उनी फरार भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी नेपालसहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला कारागार झापाका प्रमुख सदस्य रहने गरी समिति गठन भएको प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयो । 

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए । फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्को यस्ता घटना घट्न थालेको बताइएको छ । 

फरार भएका साह भद्रपुर–३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको बताइएको छ । उनले श्रीमतीलाई समेतसँगै लिएर भारततर्फ लागेको बताइन्छ । भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचाररत उनी अस्पतालको दोस्रो तलको दुई नम्बर क्याबिनमा बसेका थिए । उनी शौचालय जाने बहाना बनाएर अस्पतालबाट फरार भएको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button