तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजाअर्चना

काठमाडौँ । महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय निकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारी लगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ । आज बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला राखेर भक्तजनलाई सहज दर्शनको व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । हालसम्म चार लाख ३० हजार भक्तजनले पशुपतिनाथको दर्शन गरेका कोषले जनाएको छ ।

महाशिवरात्रि मेलालाई व्यवस्थित गर्न चार हजार सुरक्षाकर्मी र चार हजार हाराहारी स्वयंसेवक खटाइएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button