तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी–मोरङमा ग्रामथान मेला भर्न सर्वसाधारणको भिड

सुनसरी । नयाँ वर्ष आगमनसँगै सुनसरी–मोरङमा ग्रामथान मेला भर्न सर्वसाधारणको उल्लेखनीय भिड रहेको छ ।

नयाँ वर्ष वैशाख महिना सुरुवातसँगै सुनसरी, मोरङ तथा झापाको विभिन्न स्थानीय तहहरूमा ग्रामथान मेला लागिरहेका छन् ।

मेला भर्न मधेसी, थारु, आदिवासी जनजातिहरूले नयाँ वर्षलाई मेलापातको रुपमा मनाउने र रमाइलो गर्ने तथा मिठामिठो खाने आफन्त मान्यजनसँग भेटघाटसँगै भलाकुसारी गर्ने भएकाले ग्रामथान मेलाको महत्व रहेको इटहरी उपमहानगरपालिका खनारका स्थानीय विजय सरदारले बताए ।

कोशी प्रदेश अन्तर्गत सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा मेलाको रौनक नयाँ वर्षको आगमनसँगै सुरु भएको दुहबी नगरपालिकाका नगर उपप्रमुख मेनुका पोखरेल (खतिवडा)ले बताइन् । पोखरेलले दुहबी नगरपालिकाको विभिन्न वडामा मेला लाग्ने गरेको जानकारी दिनुभयो ।

यसैगरी बर्जु गाउँपालिकाको बर्जुताल, अमडुवा, बेलगछिया दैंता पोखरी लगायत अन्य स्थानमा वैशाखमा ग्रामथान मेला लाग्ने गरेको बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ कुमार रायले बताउनुभयो ।

यस भेगका मधेसी, थारु, आदिवासी, जनजाति समुदायले बढी मात्रामा ग्रामथान मेलालाई प्राथमिकतामा राखेको थारु कल्याणकारिनी सभा सुनसरी अध्यक्ष सगेन चौधरीले जानकारी दिनुभयो ।

सुनसरीको इटहरी, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहवी, कोशी, भोक्राहा नरसिंह, गढी, बर्जु, देवानगञ्ज, हरिनगर सहितका विभिन्न गाउँ टोलका ग्रामथान र विभिन्न मठ, मन्दिरहरूमा नयाँ वर्ष वैशाख महिनाभरि मेला लाग्ने गरेको छ ।

वैशाख १ गते पश्चिमकुशाहा मेला, वैशाख २ गते गढीको डोडा मेला, वैशाख ३ गते छिटाहाको गढी मेला, वैशाख ४ गते दुहबीको चरैया मेला, इटहरी – १३ को विच्छुधामी ग्रामथान मेला, रामधुनीको सिंघिया मेला, वैशाख ५ गते पचिरा, छिटाहा थान मेला, वैशाख ६ गते चिमडीको डिगिया मेला, वैशाख ७ गते हातिमुडाको कौल मेला, वैशाख ८ गते इनरुवा भगवती मन्दिर मेला र इटहरीको उवधि मेला, ९ गते बबियाको गाछी मेला, रामधुनीको झुम्का मेला, १० गते थारु टोल गढी खुईन मेला तथा मोरङको गिधिन्या मेला, झोराहाटको मेला, मिलनचौक मेला, बुढीगंगा मेला, सुन्दरहरैचा मेला लगायत महिनाभरि नै मेला लाग्दै आइरहेको छ ।

मेलाले एकआपसमा जोड्ने, भाइचाराको विकास गर्ने, साथीभाइसँग भेटघाट हुने भएकाले मधेस र थारु बाहुल्य क्षेत्रमा महत्व बढ्दै गएको इनरुवा बबियाका गणेश यादवले बताउनुभयो ।

बर्जु गाउँपालिकाका उपाध्यक्ष नितु कुमारी चौधरीले रमाइलोका लागि ग्रामथान मेला उत्तम भएकाले यसको महत्व बढ्दै गएको र यस मेलामा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहने गरेको बताइन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button