तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा बालविवाह नियन्त्रण गर्न १० वर्षे रणनीति तयार

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा बालविवाहको उच्च दरमा कमी ल्याउनका लागि प्रदेश सरकारले वैशाख १७ गतेलाई बालविवाह विरुद्धको दिवसको रुपमा यस वर्ष पनि आज मनाएको छ ।

मधेश प्रदेश जिल्लाहरूमा अहिले पनि बालविवाहको दर राष्ट्रिय भन्दा बढी भएकाले यसमा नियन्त्रण गर्नका लागि सरोकारवालाहरूको सहभागितामा “छोरा छोरी बराबरी बिस पारि विवाहवारी” मूल नारा सहित वालअधिकार दिवस गत वर्ष देखि मनाइँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको छ ।

प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा तथा विभिन्न गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागितामा मनाइएको कार्यक्रममा प्रदेशमा बालविवाहको अवस्था, नियन्त्रणका लागि भएको प्रयास तथा गर्नुपर्ने थप कामहरूको विषयमा सरोकारवालाहरूबिच बृहत् छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेशमा १५ वर्ष अगाडी बालविवाह गर्नेको सङ्ख्या ८.९ प्रतिशत रहेको छ । त्यसमा पनि वालिकाको विवाह गर्ने प्रतिशत १४.२ तथा वालकको विवाह २.१ प्रतिशतले हुने गरेको छ । जबकि राष्ट्रिय स्तरमा १५ वर्ष अगाडी नै बालविवाह गर्नेको ५.२ प्रतिशत मात्र रहेको छ ।

यसै गरि १८ वर्ष अगाडी बालविवाह हुनेमा वालिकाको ४६.० प्रतिशत, वालकको विवाह हुने प्रतिशत ७.८ प्रतिशत रहेको छ । समग्रमा मधेश प्रदेशमा १८ वर्ष अगाडी विवाह गर्नेको प्रतिशत २९.३ प्रतिशत रहेको छ जबकि राष्ट्रिय रुपमा २२.७ प्रतिशतले मात्र बालविवाह हुने गरेको छ । १५ देखि १९ वर्ष समूहमा मधेशमा वालिका विवाह हुनेको दर २४.९ प्रतिशत र वालक विवाह हुने ४.४ प्रतिशत रहेको छ ।

समग्रमा सो उमेर समूहमा विवाह हुनेको दर २४.९ प्रतिशत रहेको छ जबकि राष्ट्रिय स्तरमा यो उमेर समूहमा बालविवाहको विवाह हुने दर १२.८ प्रतिशत रहेको मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देव कुमारी खत्रीले जानकारी दिनुभयो । मधेश प्रदेशमा समग्र रुपमा बालविवाह ४२ प्रतिशतले हुने गरेको जानकारी दिइएको छ ।

राष्ट्रिय स्तरमा हुने बालविवाह भन्दा मधेश प्रदेशमा हुने गरेको बालविवाहको दर उच्च रहेकाले यसको नियन्त्रणका लागि सबैको सामूहिक प्रयास गर्न आवश्यक भएको कार्यक्रम आयोजक संस्था मध्येका एक लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो ।

बालविवाह विरुद्धको दिवस २०८१ को उद्घाटन गर्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता कुमारी साहले मधेश प्रदेश सरकारले १० वर्षे रणनीतिक योजना बनाएर बालविवाह रोक्नका लागि विभिन्न प्रवर्द्धनात्मक तथा प्रचारात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले बालविवाह रोक्नका लागि बेटी पढाऊँ बेटी बचाऊँ जस्ता कार्यक्रम गर्दै आएको बताउनु भयो ।

किशोर किशोरी सञ्जालका अध्यक्ष शहिदा खातुनको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला, बालबालिका तथा न्यायिक समितिका सभापति रुपा यादव, सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँल, प्रदेश नीति तथा योजना आयोगका सदस्य शिला मिश्र सहितका वक्ताहरूले बोल्नुभएको थियो । कार्यक्रममा बालविवाह विरुद्धको नाटक मञ्चन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button