तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : फाइनलमा चर्च ब्वाइज र त्रिभुवन आर्मी भिडने

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाण्डौले फाइनलको यात्रा तय गरेको छ । २–१ गोलले चर्च ब्वाइज फाइनल प्रवेश गरेको हो ।  

पहिलो हाफको निर्धारित समयमा दुवै टिमको तर्फबाट एक–एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सहलेश युवा क्लबका तर्फबाट नौ नम्बर जर्सीका खेलाडी आशिस चापागाईँले ३१ औ मिनेटमा एक गोल गर्दे खाता खोल्न सफल भएका थिए भने चर्च ब्वाइजका तर्फबाट पनि खेलको ४३ औ मिनेटमा ११ नम्बर जर्सीका नवीन लामाले पेनाल्टी मार्फत गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।

खेलको दोस्रो हाफको निर्धारित समयमा बराबरी अवस्थामा रोकिएको खेलमा थप गरिएको चार मिनेटको अतिरिक्त समयको तेस्रो ९३ औ मिनेटमा चर्च ब्वाइजका तर्फबाट १२ नम्बर जर्सीका खेलाडी अर्मानले थप गोल गर्दे टिमलाई विजयी गराएका हुन ।  खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका जर्सी नम्बर सातका खेलाडी अवोयोमी भएका छन् । उनले नगद पाँच हजार र मेडल पाएका छन् । 

आठ टिमको सहभागितामा सञ्चालित प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा भगवती स्पोर्टस क्लब खोटाङलाई पेनाल्टी सुट आउटमा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको थियो । उपाधिका लागि शनिवार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ बीचमा प्रतिस्पर्धा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । 

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् भने अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ । 

गत वैशाख नौ गतेबाट सुरु प्रतियोगितामा ए डिभिजनका दुई टिम त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटबल क्लब, खोटाङ भगवती स्पोर्ट्स क्लब, सलहेश युवा क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ र आयोजक भोजपुर जिल्ला फुटबल संघ गरी आठ टिमको सहभागिता थियो ।  

भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा गत वैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भई रहेको छ । करिब ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ । जसमा ३० लाख भोजपुर नगरपालिकाले सहयोग गरेको हो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button