तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेशको संवृद्धि र विकासका लागि दलहरुबीच एकता आवश्यक’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको विकास र सम्वृद्धिका लागि दलहरूबिचको एकता आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित पत्रकारिता दिवस तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीयतालाई बलियो बनाउन प्रदेशको विकासमा एकरुपता आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले कलमको शक्तिकै कारण मुलुकको राज्य व्यवस्था परिवर्तन भएकाले राजनीतिक स्थायित्वका लागि पत्रकारहरू अझ बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

उहाँले सरकारलाई सही बाटो देखाउँदै सामाजिक परिवर्तनका लागि पत्रकार जगतले मर्यादित र संयमित भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकास र पत्रकारको हकहितका लागि सदैव तत्पर रहेको उहाँको भनाई थियो ।

कार्यक्रमका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सम्शेर राईले सूचना नै शक्ति हो भन्ने महत्व बुझेर पत्रकारहरूको योगदानको कदर गर्दै प्रदेश सरकारले प्रत्येक वर्ष पत्रकारहरूलाई सम्मान गर्दै आएको बताउनुभयो ।

कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले सूचनाको हकको महत्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद प्रसाद पौडेल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव विवेक गौतमले पत्रकारहरूले सत्यतथ्य समाचार सम्प्रेषण गर्दै समाजलाई सुसूचित बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा कोशी प्रदेशमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर कलम चलाउँदै आउनुभएका मोरङका अग्रज पत्रकार अनन्तराज न्यौपाने, झापाका पत्रकार भिमलाल नेम्वाङ, धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी, सुनसरीका पत्रकार पिवि दियाली तथा उदयपुरका पत्रकार महेश्वर चाम्लिङ राइलाई नगद एक लाखसहित कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

पत्रकार पिवि दियाली मृगौला रोगबाट पीडित हुनुहुन्छ । उहाँको काठमाडौँमा उपचार भइरहेकाले प्रतिनिधि मार्फत पुरस्कार प्रदान गरिएको थियो ।

कोशी प्रदेश सरकारले २०७५ सालदेखि प्रत्येक वर्ष पत्रकारिता दिवसको अवसरमा पाँच अग्रज पत्रकारहरूलाई नगदसहित सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button