तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर–विराटनगर हवाई उडान पुन: सुचारु

भोजपुर । उडान बन्द भएको छ बर्सपछि भोजपुर– विराटनगर पुन हवाई उडान भए पछि यात्रुहरूमा उत्साह देखिएको छ । नेपाल बायु सेवा निगमको जहाजले पुन शनिवारबाट भोजपुर–विराटनगर उडान थालेको हो । 

बन्द भएको छ बर्सपछि विराटनगर यात्रा गर्न पाएकोमा यात्रुहरूले खुशी महशुस गर्नु भएको छ । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले खादा र केक बाँड्दै विराटनगरका लागि यात्राको शुभकामना दिनु भएको थियो। काठमाण्डौबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको हो । 

उडान बन्द भएको लामो समयपछि विराटनगर उडन पाएकोमा यात्रु उषा थापाले खुशी महशुस गर्दे भन्नुभयो, “समस्यामा परेका यात्रुहरूलाई विराटनगर जान अहिले सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुशी छौ, निगमले नियमित उडान गर्न जरुरी छ ।”  

नेपाल बायु सेवा निगमले हप्तामा शनिवार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेशन प्रमुख प्रकाश खडकाले बताउनुभयो । उहाँले भन्नुभयो, अव उडान तालिका अनुसार नै विराटनगर उडान हुने छ । अहिलेका लागि काठमाण्डौबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरी काठमाडौँ  जाने तालिका बनाइएको छ । विमान अभाव लगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । २०७४ सालपछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दे निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेशन प्रमुख खडकाको भनाई रहेको छ । 

हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पताल लान सिफारिस गरेका बिरामीहरू, ज्येष्ठ नागरिकहरूलाई समस्या हुँदै आई रहेको थियो । ज्येष्ठ नागरिक र बिरामीहरूलाई समस्या भई रहेको अवस्थामा बन्द रहेको उडान फेरी सुचारु हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको भोजपुर नगरपालिकाका नगर प्रमुख आलेको धारणा छ । प्रमुख आलेले भन्नुभयो, “अव तोकिएको दिन सेवा सञ्चालन हुने गरी निगमले उडान गर्नु पर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।” 

नेपाल बायु सेवा निगम भोजपुरले भोजपुर विराटनगर भाडा चार हजार २९ रुपैयाँ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इसेवा मार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । भोजपुरमा रहेको एक मात्र विमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले मात्र हप्तामा चार उडान काठमाडौँ गर्दे आई रहेको छ । पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्रे भएपनि विराटनगर उडान ठप्प थियो ।  

प्रदेश राजधानी जान र आउन पुन उडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शङ्कर प्रसाद आचार्यको भनाई रहेको छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button