तपाईँ सुन्दै हुनुहुन्छः

वातावरण संरक्षणमा महिला सहभागी भएका तस्बिर उत्कृष्ट सूचीमा

काठमाडौँ । विश्व वन्यजन्तु कोष नेपालले महिलाको नेतृत्वमा वातावरण संरक्षण गरेका उत्कृष्ट सूचीमा परेका तीन तस्बिरलाई सम्मान गरेको छ ।

से फोक्सुण्डो गाउँपालिका–५ को बिजेर गाउँमा महिलाले स्थानीय मुखपोरम खोला सफा गर्दै गरेको, इलामको दोबाटोको जङ्गलमा हाब्रेको संरक्षणमा जुटेका महिला र बर्दियाको सामुदायिक वनमा थारु समुदायका महिला भोजभतेरका लागि मौनीको पातको दुनाटपरी प्रयोग गर्दै गरेको तस्बिर उत्कृष्ट सूचीमा परेका हुन् ।

कोषको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उत्कृष्ट सूचीमा परेका से फोक्सुण्डोको तस्बिर स्थानीय महिला मिङ्मार ल्हामो गुरुङ, इलामको फोटोग्राफर रसिक महर्जन र बर्दियाको विद्यार्थी प्रतिमा थारुले लिनुभएको जानकारी दिइयो ।

महिलाको नेतृत्वमा वातावरण संरक्षण गरेका तस्बिरको प्रतिस्पर्धाका लागि आह्वान गरिएको र उत्कृष्ट तस्बिरलाई अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रमाणपत्रले सम्मानित गरिएको कोषका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जानकारी दिनुभयो । 

प्रतिस्पर्धामा देशभरबाट फोटो पत्रकार र स्थानीयका गरी ५० भन्दा बढी तस्बिरबीच प्रतिस्पर्धा भएको र छनोट समितिले विभिन्न मापदण्डका आधारमा छनोट गरेको जनाएको छ ।

साथै राष्ट्रिय प्रतिनिधि डा गुरुङले महिलाको दर्दनाक अवस्था र चित्रण मात्र गरिने परिपाटीको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै महिलाको नेतृत्वमा भएका राम्रा र प्रेरणादायी कामको प्रचार गर्नसके वातावरण संरक्षणमा थप योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button