तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा सोमबार ‘महाकमेडी विथ महाजात्रा’ हुने

पोखरा । पोखरामा भोली (सोमबार) महाकमेडी विथ महाजात्रा हुने भएको छ । ‘महाकमेडी विथ महाजात्रा’ साँझ सभागृह हलमा आयोजना गरिने तयारी गरिएको निर्देशक विशाल भण्डारीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा चर्चित हास्य कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले बताउनुभयो ।

दर्शकहरूलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको निर्देशक भण्डारीले जनाउनुभयो । टिभीमा जोडिन नपाएका दर्शकहरूले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्न पाउने उहाँले बताउनुभयो । दीपाश्री निरौलाले कमेडी च्याम्पियनका कारण नेपालमा नयाँ हास्य कलाकारहरूले अवसर पाएको दाबी गर्नुभयो । पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा ‘महाकमेडी विथ महाजात्रा’ मार्फत जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।

पोखराको कार्यक्रमका लागि सहकार्य गरिरहेको पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष कमला गिरीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छेकोमा महाकमेडी विथ महाजात्रा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका लागि प्रवेश शुल्क ५ सय रुपैयाँ रहेको छ । खल्तीबाट समेत टिकट काट्न सकिने आयोजकले व्यवस्था गरेको छ । कार्यक्रम सफल पार्न पोखरा महानगरपालिकाले समेत सहकार्य गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button