तपाईँ सुन्दै हुनुहुन्छः

नइका सिक्का र हुलाक टिकट लोकार्पण

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैङ्कबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गर्नुभएको छ । 

नेपाल राष्ट्र बैङ्कबाट नइ प्रकाशनको एक सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट दस रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको हो ।

नेपाल राष्ट्र बैङ्कबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो हो । नइ प्रकाशनले काठमाडौँमा  आयोजना गरेको समारोहमा कुलपति इन्दिरा प्रसाईँले नेपाली साहित्यमा नौलो आयाम थपिएको बताउनुभयो । 

 समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँबाट मन्तव्य प्रकट भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button