तपाईँ सुन्दै हुनुहुन्छः

‘रुस-युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत’

रुपन्देही । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताउनुभएको छ ।

आज भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक साधारण सभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय रेडक्रस परिचालन गरेका छौँ र संयुक्त राष्ट्रसँग पनि मेरो लगातार कुरा भइरहेको छ ।”

उहाँले अहिले रुसबाट फिर्ता ल्याउनका लागि दुई सय ४४ वटा उजुरी आफूकहाँ परेको बताउँदै त्यहाँ रहेकाहरूलाई फिर्ता ल्याउनका लागि आफू लगातार लागेको दोहोर्‍याउनुभयो । साथै त्यहाँ मारिएका नेपालीका आश्रित परिवारलाई क्षतिपूर्तिको रकम दिलाउने प्रयास पनि भइरहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री साउदले विप्रेषण आयबाट मात्र देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नसकिने बताउनुभयो । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वासको वातावरण बनाएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

हाल उद्योग व्यवसाय औसत ३० प्रतिशतमा मात्र चलेको गुनासो गर्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुने वातावरण राज्यले बनाउनुपर्ने तथा बैङ्क तथा वित्तीय संस्थाले लचिलो भएर व्यवसायीको मर्का बुझ्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न माग गर्नुभयो । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकहरू थाइल्याण्ड, श्रीलङ्का, भियतनाम, कोरिया, जापान, चीनबाट थप हवाई उडान सञ्चालन गर्न कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button