तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिकोत्सव, तीन स्रष्टा सम्मानित

जनकपुरधाम । भाषा, साहित्य, संस्कृति, कला, गीत सङ्गीत तथा नाट्य विधाको संरक्षण गर्ने उद्देश्यले मधेश प्रदेश सरकारद्वारा स्थापना भएको मधेश प्रज्ञा प्रतिष्ठानले आफ्नो पहिलो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर आज मनाएको छ । 

प्रथम वार्षिकोत्सवको अवसरमा तिरहुतिया गाछीमा रहेको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरिएको कार्यक्रममा मिथिला पेन्टिङ, मूर्तिकला तथा परम्परागत गीतको संरक्षण तथा प्रवद्र्धनमा विशेष योगदान दिनुभएका तीन जना स्रष्टालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

यसरी सम्मानित हुनेहरूमा मिथिला चित्रकलातर्फ जनकपुरधामको वडा नंं ३ का मिथिलेश्वरी देवी कर्ण, मूर्तिकलातर्फ धनुषाको धनौजी गाउँपालिकाका प्रसिद्ध मूर्तिकार योगेन्द्र पण्डित र लोक गायनतर्फ सप्तरीको छिन्नमस्ता गाउँपालिकाको  वीरपुरका लोक गायक विष्णु यादव रहनुभएको छ । 

यसैगरि कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने विभिन्न संस्कृतिसँग सम्बन्धित जातजातिहरूको नृत्य तथा सङ्गीतका साथै वाद्यवाजाहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा मैथिली, थारु, तामाङसहितका जातीको भेषभूषसहितको गीतहरू प्रदर्शन गर्ने गरिएको थियो ।  

सोही अवसरमा मधेश प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्दै आएको त्रैमासिक प्रज्ञा दर्पणको लोकार्पण गरिएको छ ।  

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले कला, साहित्य, संस्कृति र संस्कारको संरक्षणमा प्रतिष्ठानले खरो रुपमा काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संस्कृतिको नाममा अहिले बढेको विकृतिहरू रोक्नका तथा हानिकारक अध्यासहरूको विरुद्धमा घर परिवार, समाज जस्ता प्राज्ञिक संस्थाहरूले काम गर्न आवश्यक भएको बताउनुभयो । 

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले प्रतिष्ठानले यस क्षेत्रको ६ वटा विधाको संरक्षणका साथै अनुसन्धान तथा खोजको कामलाई अगाडी बढाइरहेको बताउनुभयो । सो अवरमा उहाँले मधेसको इतिहास लेखनको काम शुरु भइसकेको समेत जानकारी दिनुभयो ।  

कार्यक्रममा प्रतिष्ठानका सदस्य दिनेश यादव, प्रतिष्ठानका कार्यालय प्रमुख दानीकान्त झा, गायक नविन कुमार मिश्र, त्रिभुवन विश्व विद्यालय केन्द्रीय मैथिली विभागका पूर्व विभागाध्यक्ष परमेश्वर कापरसहितका वक्ताहरूले बोल्नुभएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button