तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै मध्यपश्चिम विश्वविद्यालय 

पढ्दै कमाउँदै कार्यक्रमसँगै विश्वस्तरका पाठ्यक्रम लागु

काठमाडौँ । कर्णाली प्रदेशको सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयले शिक्षालाई रोजगारसँग जोडेपछि विश्वविद्यालयमा विगतभन्दा विद्यार्थी सङ्ख्या दोब्बरले बढेको छ । 

पढ्दै कमाउँदै कार्यक्रमसँगै विश्व स्तरका पाठ्यक्रम लागु गरेको मध्यपश्चिम विश्वविद्यालय कर्णालीबासीको मात्रै नभई मुलुकभरकै विद्यार्थीको रोजाइको विश्वविद्यालयका रुपमा चिनिन थालेको छ । 

नेपालको उच्च शिक्षामा विश्वास छैन भन्दै विदेश अध्ययनका लागि जानेहरू दिनानुदिन बढेको भन्ने जनबुझाइ रहेका बेला मध्यपश्चिम विश्वविद्यालयले भने नेपालमै अध्ययनसँगै रोजगारी पनि सम्भव छ भनेर प्रमाणित गर्ने प्रयास गरेको छ । 

विश्वविद्यालयले भौतिक र शैक्षिक प्रगतिसँगै आयआर्जनका कार्यक्रमहरू समेत सञ्चालन गरेपछि विद्यार्थीहरू थप आकर्षित भएका छन् । पाँच वर्षअघि साँढे सात हजार विद्यार्थी रहेकामा हाल १३ हजारभन्दा बढी विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत छन् । 

अत्याधुनिक भौतिक पूर्वाधार र प्राज्ञिक विकासमा यथेष्ट प्रगति गरेको मध्यपश्चिम विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित भएको छ । सात वटा सङ्काय, ५० वटा कार्यक्रम, २० वटा प्राज्ञिक संस्थान, छ सय शिक्षक–कर्मचारी रहेको विश्वविद्यालयमा पछिल्लो समय कृषि विषयको स्नातक पढाइसँगै कृषि उत्पादन, कर्णालीमा पाइने जुडिबुटीबाट हर्बल उद्योग स्थापना गरिएको छ । 

विश्वविद्यालय हातामै सुविधा सम्पन्न स्टार होटल र बेकरी उद्योग पनि सञ्चालन गरिएको छ । जहाँ विश्वविद्यालयमै अध्ययन गर्ने विद्यार्थीहरूले रोजगारीको अवसर पाएका छन् । 

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंह आफूले कोरोना महामारीका बीच पनि दिनमा १८ घण्टासम्म काममा खटिएर नतिजा निकालेको बताउनुभयो । 

त्यसो त विश्वविद्यालयको सुधारमा स्थानीय र बौद्धिक जमातले साथ विश्वविद्यालयको नेतृत्वलाई दिएका छन् । तर केही राजनीतिक स्वार्थ बोकेका समूहको असहयोगका बीच पनि विश्वविद्यालयको नेतृत्वले प्रशस्त सुधार गरेको छ । 

मध्यपश्चिम विश्वविद्यालयले लागु गरेको पाठ्यक्रम पनि विश्वका उच्चस्तरका विश्वविद्यालय स्तरका छन् । जहाँ ७० प्रतिशत पाठ्यक्रम विश्व स्तरका, १० प्रतिशत राष्ट्रिय र २० प्रतिशत स्थानीयका साथै ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिकता आधारित छ । 

विश्वविद्यालयले कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब, हर्बल प्रोसेसिङ युनिट स्थापना पनि गरेको छ । 

त्यसैगरी अनुसन्धान तथा विकास केन्द्र, केन्द्रीय पुस्तकालय, परीक्षा व्यवस्थापन कार्यालय भवन निर्माण कार्य पनि भइरहेको  छ । 

यस्तै, जैविक तथा जलवायु परिवर्तन प्रयोगशाला, नवप्रवर्तन र उद्यमशीलता केन्द्र स्थापनाजस्ता नवीन कार्यसञ्चालन विश्वविद्यालयको नेतृत्वले सुरु गरेको छ । 

उच्च शिक्षालाई उद्यमशीलतासँग जोड्ने हो भने देशको आर्थिक विकासमा टेवा पुग्ने बताउँदै उपकुलपति सिंहले मध्यपश्चिम विश्वविद्यालय यही बाटोमा हिँडेको बताउनुभयो । 

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू पनि पढाइसँगै आर्थिक आम्दानी गर्न सक्षम भएका छन् । स्नातक तहमा कृषि विषय अध्ययनरत छात्रा विष्णु थापाले  बेलैमा डाक्टर इन्जिनियर नै पढे भने कृषि क्षेत्रमा जनशक्ति नपाइने बताउँदै कृषिप्रधान मुलुकमा केही गर्ने उद्देश्यका साथ आफूले कृषि विषय रोजेको बताउनुभयो । 

कृषि विषयअन्तर्गत माटो, बोटबिरुवा, अर्ग्यानिक मललगायत व्यापक विषयको विज्ञता हासिल गर्ने गरी सैद्धान्तिक र व्यवहारिक पाठ्यक्रम सञ्चालन गर्दै आएको मध्यपश्चिम विश्वविद्यालयमा कृषि विषय पढ्नेका लागि आवासको समेत व्यवस्था गरेको छ । त्यहाँ कृषि विषय पढ्न काठमाडौँ, भक्तपुर, मकवानपुरदेखि जुम्ला हुम्ला र दार्चुलासम्मका विद्यार्थीहरू भर्ना भएका छन् । 

विश्वविद्यालय मुलुकको प्राज्ञिक थलो हो । हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएका विश्वविद्यालयहरू राजनीतिक प्रभावका कारण अन्योलमा पर्ने गरेका छन् । मध्यपश्चिम विश्वविद्यालय पनि त्यसबाट अछुतो हुन सकेन । राजनीतिक दबाब र प्रभावमा भएको तालाबन्दीका बाबजुद पनि विश्वविद्यालयको भौतिक र प्राज्ञिक उन्नयनको स्तर वृद्धि यसरी भएको छ कि मध्यपश्चिम विश्वविद्यालयबाट देशका अरू विश्वविद्यालयले पनि सिक्नु जरुरी छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button