तपाईँ सुन्दै हुनुहुन्छः

उर्मिला डाँडापारी पत्रकारिता पुरस्कारबाट शोभा पुरस्कृत

काभ्रेपलान्चोक । उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी दिल कुमारी हुमागाईँ (शोभा)लाई प्रदान गरिएको छ । मङ्गलवार पत्रकारिताको माध्यमबाट डाँडापारिको समस्यालाई उजागर गरेको भन्दै नेपाल प्रेस युनियन काभ्रे शाखाको आयोजनामा हुमागाईँलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो ।

काभ्रे जिल्लाको बनेपामा एक कार्यक्रमको आयोजना गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद शिव प्रसाद हुमागाईँले शोभालाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

उर्मिला सापकोटाको काभ्रे जिल्लाको विकट ठाउँ बेथानचोक गाउँपालिका–१ बाट उच्च शिक्षा अध्ययनको लागि ललितपुर जाने क्रममा बस दुर्घटनामा परी मृत्यु भएको थियो । विकटताका कारण उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यताका कारण छोरीले ज्यान गुमाउनु परेकोले विकटतालाई पत्रकारिताको माध्यमबाट बिकास होस भन्ने हेतुले सापकोटा परिवारले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका थिए ।

एक लाखको अक्षय कोषबाट विगतदेखि डाँडापारिको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याउने सञ्चारकर्मीलाई हरेक बर्ष पुरस्कार वितरण गरिँदै आएको छ ।

सापकोटाको १४औँ स्मृति सभा कार्यक्रममा शोभालाई पुरस्कार वितरण गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुमागाईँले उर्मिला सापकोटालाई युग युगसम्म जीवन्त राख्न र डाँडापारिको जनताले छोरीले जसरी दुःख नपाओस् भन्ने उद्देश्यका साथ परिवारले पुरस्कार स्मृति कोष स्थापना गरेको बताउनुभयो । केन्द्रिय सदस्य हुमागाईँले उर्मिला सापकोटाको आत्माले शान्ति पाउने गरी डाँडापारिको विषयमा कलम चलाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा उर्मिला सापकोटाका पिता गोपालकृष्ण सापकोटाले त्यस ठाउँमा छोरीले जसरी अन्यले दुःख नपाउन भन्ने हेतुले डाँडापारि पत्रकारिता पुरस्कारको स्थापना गरेको बताउनुभयो । अझै डाँडापारिको बिकास भई नसकेकोले समृद्ध डाँडापारिको लागि कलम चलाउन अनुरोध गर्दै अनि मात्र छोरीको आत्माले शान्ति पाउने उहाँको भनाई छ ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली काँग्रेस जिल्ला कार्य समितिका कार्यवाहक सभापति ठाकुर न्यौपाने, उपसभापति रमेश हुमागाईँ, सचिव माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी लगायतले सापकोटालाई श्रद्धाञ्जली अर्पण गर्दै डाँडापारिको विकासका लागि अझ बढी कलम चलाउनुपर्ने बताउनुभयो ।

प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको अध्यक्षता भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सापकोटा, कपिल कोइराला, प्रेस युनियन बागमती प्रदेशका लेखा संयोजक शङ्कर अधिकारी, पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष महेश पौडेल, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस सङ्गठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा लगायतले उर्मिला सापकोटाप्रति श्रद्धाञ्जली, सम्मानित हुमागाईँप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button