तपाईँ सुन्दै हुनुहुन्छः

खोला पूजा गर्दै माझी समुदायले मनाए कोशी पर्व

सिन्धुपाल्चोक । खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलवार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।

कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह–आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान लगायतले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताउनुभयो ।

सिन्धुपाल्चोकका माझीहरूले कोशी पर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशी पर्व भव्य रुपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताउनुभयो ।

माझी समुदायले लदी पर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन्। लोप हुँदै गएको कोसी पर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button