तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महासमिति बैठक : विभिन्न प्रस्तावहरूमाथि समूहगत रुपमा छलफल

काठमाडौँ । नेपाली काँग्रेसको ललितपुरमा जारी महासमिति बैठकमा विभिन्न प्रस्तावहरूमाथि आज समूहगत रुपमा छलफल भएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारी यही फागुन ७ देखि ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन आज समूहगत रुपमा महासमिति बैठकमा हिजो पेश भएका विभिन्न प्रस्तावहरूमाथि छलफल भएको नेपाली काँग्रेसले जनाएको छ ।

महासमितिको हिजोको बैठकमा पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, पार्टीको लेखा समितिका संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदन पेश भएको थियो ।

बन्द सत्रमा सबै जिल्लाका जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ ।

यस्तै छलफलमा देशभरबाट आउनुभएका महासमिति सदस्यहरुले पनि प्रतिवेदनमा आफ्नो विचार राख्नुभएको नेपाली काँग्रेसले जनाएको छ ।

महासमिति बैठकमा धारणा राख्ने नेताहरूले संविधानको कार्यान्वयनमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतराहरूलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्ने लगायतका धारणा राख्नुभयो ।

यस्तै बैठकमा नेताहरूले सामाजिक न्यायका लागि नेपाली काँग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै नेपालको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

सहभागीहरूले ऊर्जा र जलश्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसरहरू बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने सरकार र पार्टीबिचको समन्वय बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदको पूर्वाधार विकास गरी खेल पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको संकटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैर नागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

फागुन ७ गतेदेखि सुरु भएको नेपाली काँग्रेस महासमितिको बैठक भोलिसम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button