तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीका पूर्वमन्त्री यादव सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति लिएको भन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आठ जना वन अधिकृत गरि १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अनुसन्धान आयोगले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमति लिएको भन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दाबी गर्दै कपिलवस्तुका आठ जना वन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अनुसन्धान आयोगले मङ्गलवार विशेष अदालतमा वन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन इकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेव महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैयाँ नोक्सानी भएको अख्तियारले दाबी गरेको छ । अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिव शङ्कर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाईँ, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरू सञ्जय थारु, सञ्जय केवट, राम गोपाल त्रिपाठी, वासुदेव गोडिया, तत्कालीन संयोजक जानकी प्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठ दाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गीता जी।सी। विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

८ सय ओटा रुख काट्ने क्रममा करिब १९ हजार क्यूफिटको बन पैदावार कम सङ्कलन भएको अख्तियारले आरोप लगाएको छ । गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिका तत्कालीन संयोजक रहेका जानकी प्रसाद यादव राप्रपाबाट लुम्बिनी प्रदेश सांसद समेत हुन् । उनी कपिलवस्तुको क्षेत्र नम्बर ३ (२) बाट राप्रपाबाट प्रदेश सांसद रहेका छन् । यादव लुम्बिनी प्रदेश सरकारको पूर्व उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीसमेत भई सकेका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button