तपाईँ सुन्दै हुनुहुन्छः

२५६८औँ बुद्ध जयन्तीको तयारी पूरा, बुद्ध जयन्तीमा प्रधानमन्त्री प्रचण्ड आउने 

लुम्बिनी । २५६८ औँ बुद्ध जयन्तीको तयारी पूरा भएको लुम्बिनी बिकास कोषले जनाएको छ । 

बुद्ध जयन्तीका अवसरमा जेठ ९, १० र ११ गतेका दिन विभिन्न उत्सवका रुपमा मनाउने गरि तयारी पूरा भएको लुम्बिनी बिकास कोषले जनाएको छ । 

बुद्ध जयन्ती एवं लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी बिकास कोषका अध्यक्ष हितबहादुर तामाङको संयोजकत्वमा ५ सय ६८ सदस्यीय आयोजक समिति र उपाध्यक्ष ल्हारक्याल लामाको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन भएको लुम्बिनी बिकास कोषका कोषाध्यक्ष  तथा प्रचार संयोजक ढुण्डिराज (सिद्धिचरण)भट्टराईले जानकारी दिनुभयो । 

कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा प्रचारप्रसार र रामग्राम देबदह समन्वय उप-समिति, सदस्य सचिव सानु राजा शाक्यको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक समिति गठन गरि बुद्ध जयन्तीको तयारी गरिएको छ । 

जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने कोषका उपाध्यक्ष लामाले बताउनुभयो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष तामाङसहित, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता हुने उपाध्यक्ष लामाले बताउनुभयो । 

जेठ ९ गते साँझ दुतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, महापरित्राण पाठ हुने उपाध्यक्ष लामाले बताउनुभयो । 

मुल समारोहका दिन १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थना सभा, बिहान ७:३० बजे ५ नं गेटबाट शोभा यात्रा हुने छ ।  उपाध्यक्ष लामाले भन्नुभयो,- लुम्बिनीमा नेपाल, भारत, श्रीलङ्कासम्म पुग्ने गरि त्रिदेशीय मोटरसाइकल यात्रा हुने छ । साथै अस्तु धातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्रामसम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देबदहमा पनि बुद्ध जयन्तीमा कोष र स्थानीय तहहरुले विविध कार्यक्रम गरि मनाइँदै छ ।

बुद्ध जयन्तीको भोलिपल्ट बोधिसत्त्व सिद्धार्थको शोभा यात्रा जेठ ११ गते हुने र शिशु बोधिसत्त्वको घर फिर्तीको झल्को दिने गरि लुम्बिनीबाट मायादेवी मार्ग हुँदै प्राचीन कपिलवस्तुमा शोभा यात्रा गरिने लुम्बिनी बिकास कोषका सदस्य सचिव सानु राजा शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button