तपाईँ सुन्दै हुनुहुन्छः

म र रेडियो

सन्दर्भ: रेडियो दिवस

टीकापुर कैलाली । मैले सम्झन सक्ने समयदेखि नै मेरो घरमा रेडियो सेट थियो । त्यतिवेला मेरा बुवा बम्बई (भारत) जाने गर्नुहुन्थ्यो । २/३ वर्ष बम्बई बसेर घर फर्किने समयमा बुवाले सबैजसो रेडियो सेट लिएर आउनुहुन्थ्यो । किनकि, घरमा अघिल्लो पटक ल्याएको रेडियो कतै बिग्रेको हुनसक्छ भन्ने उहाँको बुझाई हुन्थ्यो । किनभने रेडियो बिग्रिएपछि त्यतिवेला त्यहाँ रेडियो बनाउने मान्छे उपलब्ध थिएनन् ।  बुवा घरमा भएपछि सधैँ रेडियो सुन्ने गर्नुहुन्थ्यो । त्यतिवेला अहिलेका जस्ता एफएम रेडियोहरू थिएनन् । रेडियोको नाममा त्यही एउटा रेडियो नेपाल थियो । अन्य कार्यक्रम कम सुने पनि बिहान र साँझको समाचार भने बुवाले सधैँ सुन्ने गर्नुहुन्थ्यो । म पनि बुवासँगै कहिलेकाहीँ रेडियो सुन्ने गर्थे । त्यतिवेला बुवालाई मेरा धेरै प्रश्न हुन्थे, बुवा यो रेडियो भित्र बोल्ने मान्छे कस्ता हुन्छन् ? कति हुन्छन् ? कसरी बोल्छन् होला है ? यति सानोमा बसेर धेरै मान्छेहरू । बुवालाई पनि के थाहा त्यहाँ भित्रका मान्छेका बारेमा । उहाँ मेरा प्रश्नको उत्तरमा कहिलेकाहीँ मलाई पनि थाहा छैन भन्नुहुन्थ्यो भने कहिले काँही त्यहाँभित्र हेरेपछि थाहा हुन्छ भन्नुहुन्थ्यो । बुवाको यो उत्तरका कारण मलाई त्यो रेडियो सेट खोलेर त्यहाँ भित्रका मान्छे हेर्ने मन लाग्यो । यो कुरा करिब ३२/३३ वर्ष अगाडिको हो । म त्यतिवेला ८/९ वर्षको थिए । बुवा घरमै भएको समयमा त त्यो रेडियो सेट खोल्न त्यति सहज थिएन । बुवा एक वर्ष जति घरमा बसेर फेरि बम्बई जाने समय आयो । म पनि दाऊ हरेर बसेको थिएँ कि बुवा कहिले बम्बई जालान् र म यो रेडियो सेट खोलेर त्यहाँ भित्रका मान्छेहरू हेरुँला ? मलाई त्यो कुराको अहिले पनि याद छ । 

बुवा मंसिरमा खेती लगाएर बम्बई जानुभयो । बुवा हिँडेको भोलिपल्ट मैले त्यो रेडियो सेट खोल्न शुरु गरिहाले, किनकि मलाई चाँडै त्यहाँ भित्रका मानिसहरू हेर्नु थियो । तर भने जसरी त्यो रेडियो सेट खोल्न पनि सहज थिएन । किनकि त्यतिवेला त्यहाँ त्यसलाई खोल्ने सामानहरू केही थिएनन् । खोल्न त खोल्ने केले कसरी खोल्ने भन्ने कुराको जोहोमा लागे । घरमा भएको घाँस काट्ने हँसियालाई विडबाट निकालेर त्यसको पारो (तलपट्टीको तिखो भाग) ले खोल्न शुरु गरे । राम्रोसँग खोल्न नजाँन्दा खोल्दाखोल्दै केही किला बिग्रिए, केही तारहरू चुँडिए । बिग्रेरै भएपनि रेडियो सेट खोलेरै छोडियो र त्यो दिन ठुलै युद्ध जिते झैँ लाग्यो । किनकि अव रेडियोमा बोल्ने मान्छेहरू देख्न पाइने भए । अनि त्यो रेडियो सेट खोलेर २/४ जना बसेर त्यसका भित्रका सामानहरू मजाले हेरियो । त्यहाँ भित्र भएका सामानहरूलाई मानिस बनाइयो । यी केटाकेटी, यी बुढाबुढी मान्छे, यी केटी मान्छे, यी केटा मान्छे भनियो । खोलियो, हेरियो, रमाइयो तर पहिलेका जसरी मिलाउन नसक्दा रेडियो भने नबोल्ने (नचल्ने) भयो । 

साँझपख आमाले रेडियो किन बोल्दैन भनि सोध्दा त्यसका सेल (ब्याट्री) सकियो भनि आमालाई झुटो बोलियो । त्यसपछि त्यो रेडियो सेट घरको एउटा कुनामा लगेर थन्काइयो । त्यसको २ वर्षपछि बुवा फेरि बम्बईबाट आउनु भयो । त्यतिवेला पनि एउटा रेडियो बोकेरै ल्याउनु भएको रहेछ । त्यो रेडियोलाई पनि बुवा अर्को वर्ष बम्बई गइसकेपछि पहिलेको जसरी नै खोलेर त्यहाँ भित्रका मान्छेहरू पनि हेर्ने काम गरियो । तर त्यसलाई भने पहिलेको भन्दा अलि जतन गरेर खोलेका कारण बिग्रिएन । खोलेर राम्रोसँग मिलाउन सफल भयौँ । त्यो रेडियो बुवा अर्को पटक बम्बईबाट आउँदासम्म पनि सुन्ने अवस्थामै राखेर सुनियो । 

म पनि अलि ठूलो हुँदै गए । त्यतिवेला रेडियो नेपालको तत्कालीन क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट देउडा गीतको सेरोफेरो भन्ने कार्यक्रम आउँथ्यो । बुधबार बिहान ११ बजेतिर हो जस्तो लाग्छ । त्यो कार्यक्रममा श्रोताहरूले लेखि पठाएका देउडा गीतहरू प्रसारण हुने गर्थे । म पनि त्यही कार्यक्रमका लागि अछामबाट देउडा गीत लेखेर चिठी पठाउँथे । त्यो बुधवारको अधिकांश दिन म स्कुल जाँदैन थिए । किनकि त्यो दिन त्यो कार्यक्रममा कतै मैले पठाएका देउडा गीत आउँछन् कि भनेर चासो हुन्थ्यो । यति मैले पठाएका देउडा त्यो देउडा गीतको सेरोफेरो कार्यक्रममा प्रसारण भएपछि गाउँभरीकालाई सुनाउँदै हिँड्ने गर्थे, रेडियोमा मैले पठाएका गीत आए भनेर । केही वर्ष मैले त्यसै गरे । त्यसपछि द्वन्द्व चर्कियो । त्यसले गर्दा मेरो त्यो कामले पनि निरन्तरता पाएन । 

२०६३ सालमा कक्षा १२ पास गरी म स्नातक तहको पढाएको लागि अछामबाट कैलालीको टीकापुर झरेँ । ६३ सालको मङ्सिर महिनातिरको कुरा हो टीकापुरमा रेडियो खोल्ने र त्यसको लागि रेडियोको उद्घोषण तालिम सञ्चालन हुने भन्ने सूचना कैलाली हटलाइन दैनिक पत्रिकामा आएको रहेछ । त्यो पत्रिकाको टाइप गर्ने मान्छे मेरो कक्षा ८ देखिका साथी नाताले काका नाता पर्ने वृष रावल कान्छो हुनुहुन्थ्यो । उहाँले मलाई त्यो सूचनाको बारेमा जानकारी दिँदै मेरो हातमा पत्रिका थमाउनु भयो । मैले त्यो सूचना हेरेर एक महिनाको रेडियो उद्घोषण तालिम लिने निधो गरे । महिनाको दुई हजार तिरेर त्यो तालिम पनि लिइयो । त्यो तालिम टीकापुरमा स्थापना हुन लागेको फूलबारी एफएमले सञ्चालन गरेको थियो । तालिम लिएपछि २०६४ सालको वैशाखबाट टीकापुरमा सञ्चालित फूलबारी एफएममा जोडिने मौका मिल्यो । त्यो एफएममा २०६८ साल भदौ महिनासम्म काम गरियो । 

त्यसपछि २०६८ साल पुस महिनादेखि टीकापुरमै सञ्चालित अर्को सामुदायिक रेडियो टीकापुर एफएममा जोडिने अवसर मिल्यो । सामुदायिक रेडियो टीकापुर एफएममा जोडिसकेपछि सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्कमा जोडिने अवसर पनि मिल्यो । सामुदायिक रेडियो टीकापुर एफएममा अहिलेसम्म काम गरिरहेको छु । त्यसैबीचमा २०७५ साल भदौ महिनादेखि रेडियो नेपालको स्थानीय सम्वाददाताका रुपमा जोडिएर काम गर्ने अवसर पनि मिल्यो । अहिलेसम्म काम गरिरहेको छु । यसैबिचमा एन्टेना फाउण्डेशन, इक्वल एक्सेस जस्ता संस्थाहरूसँग पनि जोडिएर रेडियो कार्यक्रम उत्पादन गर्ने मौका जु¥यो । एक ताका रेडियो सेट भित्रका मानिसहरूको खोजी गर्ने म अहिले आफै रेडियोबाट आफ्नो आवाज सबैलाई सुनाइरहेको छु । म जस्ता अरूलाई पनि रेडियोमा बज्ने समाचार, कार्यक्रम र विज्ञापनका विषयमा आफूले सिकेको कुराहरू सिकाउने गरिरहेको छु । यदि मैले त्यतिवेला ती रेडियो सेटका मानिसहरूको खोजी नगरेको भए म अहिले रेडियोकर्मीका रुपमा हुने थिए वा थिएन थाहा छैन । 

सरकारी, सामुदायिक र व्यक्तिगत रेडियो बीच भिन्नता

मैले रेडियोकर्मी भएर काम गर्दै जाने क्रममा सामुदायिक र व्यक्तिगत रुपमा सञ्चालित दुवै एफएम रेडियोमा काम गर्ने अवसर पाएँ । यसरी काम गर्ने क्रममा सामुदायिक र संस्थागत रेडियोमा धेरै भिन्नता देखे । मैले माथि उल्लेख गरेको मैले रेडियोमा बोल्न शुरु गरेको फूलबारी एफएममा मैले ४ वर्षभन्दा अलि बढी समय काम गर्दा मैले त्यो समयमा सुरुमा लिएको त्यो तालिम भन्दा अरू कुनै तालिम पाउन सकिन, अनि काम गर्दा रेडियोको मालिकले भनेको वा उसलाई फाइदा हुने काम मात्र गर्नु पर्ने अर्को कुरा, यदि उसलाई फाइदा हुँदैन भने त्यो काम त्यो एफएममा भएका कसैले पनि गर्न नहुने रहेछ । त्यहाँ समाजमा के हुँदैछ, समाज कतातिर जाँदैछ, त्यसको कुनै प्रवाह नै हुन्न । बस आफ्नो फाइदा हे¥यो त्यही अनुसार काम ग¥यो । 

यसले गर्दा न त्यहाँ काम गर्ने व्यक्तिको व्यक्तित्व विकास हुने न समाजलाई फाइदा हुने । समाजमा भएका सकारात्मक भन्दा नकारात्मक कुराको बढी प्रचारबाजी गर्ने काम भइरहेको महशुस गरे । यो मेरो व्यक्तिगत रेडियोमा काम गर्दाको भोगाई हो । त्यसपछि म सामुदायिक रेडियोमा जोडिन पुगे र त्यसैमा आजको दिनसम्म काम गरिरहेको छु । यसले मेरो व्यक्तिगत जीवनमा धेरै कुरा सिकाएको छ । सामुदायिक रेडियो टीकापुरले गर्दा रेडियोकर्मीका रुपमा निरन्तर छु यहीमा काम गर्न थालेपछि तालिमका विभिन्न अवसरदेखि माथि उल्लेखित विभिन्न सञ्चारका माध्यामहरुमा जोडिने अवसर जुरेको छ । समुदायसँग जोडिन पुगिएको छ । समाजलाई बुझ्ने मौका मिलेको छ । त्यसकारण मेरो बुझाइमा कुनै ठाउँमा काम गर्नु मात्र ठूलो कुरा होइन, काम गर्दा मिल्ने आत्मसन्तुष्टि ठूलो कुरा हो जस्तो लाग्छ ।  

निजी रेडियोमा रहँदा रेडियोका मालिकका लागि काम गरेको सोच्ने म सामुदायिक रेडियोमा रहँदा समुदायका लागि समर्पित हुनुपर्दो रहेछ भन्ने ज्ञान पाएर काम गरिरहेको छु भने रेडियो नेपालमा जोडिदा स्थानीय आवाजको राष्ट्रियकरण गरेको र हरेक समाचार राष्ट्रका लागि हुनुपर्दो रहेछ भन्ने सोचिरहेको छु । रेडियो दिवसको सबैलाई हार्दिक मङ्गलमय शुभकामना ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button