तपाईँ सुन्दै हुनुहुन्छः

सन्दर्भ विश्व रेडियो दिवस

रेडियोका १०० वर्ष

बुद्धिबहादुर के.सी.
कार्यकारी निर्देशक, रेडियो नेपाल

पृष्ठभुमिः

रेडियो शब्दको प्रयोग सन १८९७मा सर्व प्रथम फ्रान्सका भौतिक शाश्त्री बान्लीले गरेको इतिहास छ । यस अघि रेडियोलाई वायरलेस टेलिग्राफी भन्ने चलन थियो ।

रेडियोको जन्म हुनुमा धेरै जना बैज्ञानिक/अन्वेषकहरुको अतुलनिय योगदान रहेको पाइन्छ, यी मध्ये म्याक्सवेल, मार्कोनी, लिडि फोरेष्ट, फ्लेमिङ, फेसेन्डेल आदि प्रमुख  छन् । सन् १९१० तिर रेडियोलाई पानी जहाजमा सूचना दिने काममा प्रयोग गरिएको पाइन्छ भने दोश्रो विश्वयुद्ध ताका रेडियोको प्रयोग प्रचुर मात्रामा युद्ध क्षेत्रमा भएको देखिन्छ ।

विश्वमा सर्वप्रथम अमेरीकामा सन १९२० मा पहिलो नियमित रेडियो स्टेशन स्थापना भयो । सन १९२२मा वि.वि.सी. शुरु भयो र एसियामा श्रीलंकाले सन १९२४ देखि नियमित रेडियो प्रसारण गर्‍यो भने भारतमा सन १९३१ मा अल इन्डिया रेडियोको जन्म भयो । यसैगरी नेपालमा अनौपचारिक रुपमा वि.सं. २००३ (सन् १९४७) र औपचारिक रुपमा  वि.सं. २००७  (सन् १९५१) सालमा रेडियो प्रसारण नियमित भयो । जन्मकाल देखिनै रेडियोको मर्म भनेकै मुख्य रुपमा सूचना दिने र मनोरञ्जन गराउने देखिन्छ । रेडियोको जन्म पनि हरेक देशमा अनौपचारिक रुपमा संघ/संस्था हुँदै औपचारिक रुपमा राष्ट्रिय प्रसारणमा रुपान्तरण भएको पाइन्छ ।

विश्व रेडियो दिवसको सन्दर्भः

संयुक्त राष्ट्र संघ अन्तरगतको युनेस्कोका सदस्य राष्ट्रहरुद्वारा सन २०११ मा घोषणा भएर सन १०१२ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउन थालेको पाइन्छ । युनेस्कोले सन् २०२४ को विश्व रेडियो दिवसको नारा Radio: A century informing, entertaining and educating राखेको छ युनेस्कोले यो वर्ष विश्व रेडियो दिवसको नारा तय गर्दा रेडियो विगतको गर्विलो इतिहास, वर्तमानको सान्दर्भिकता र भविष्यको प्रतिवद्धतालाई दृष्टिगत गरी रेडियोले आफ्नो स्थापनाकाल देखि आजसम्म गर्दै आएको सेवाको आधारमा सूचना/समाचार दिने, मनोरञ्जन प्रदान गर्ने र शिक्षाप्रद विषयवस्तुहरु पस्कन सयौ वर्ष देखिको निरन्तरतालाई पुनः स्मरण गर्न खोजेको आभाष हुन्छ ।

रेडियो चाहे अमेरिकाको होस युरोपको, अफ्रिकाको होस वा एसियाको यसको मुख्य कार्य विगतदेखि वर्तमान सम्म यी तीनै विषयमा केन्द्रित छ । फगत प्रविधिको परिवर्तनले माध्यम कहिले भुसतही  (Terrestrial)  त कहिले डिजिटल  (Digital) हुँदै २१ औं शताब्दी सम्म आइपुग्दा केबल बोल्ने र सुन्ने रेडियो मात्र नभएर हेर्ने रेडियो र पढ्ने रेडियोका रुपमा पनि विकास भैसकेको छ । न्यारोकाष्टीङ, ब्रोकाष्टीङको अलावा पोडकाष्टिङ, डिजिटल/इन्टरनेट/अनलाइन रेडियोहरु, रेडियो प्रसारणका पछिल्लो विकसित रुपहरु हुन् ।

रेडियोलाई मानवता सम्बन्धी विविध पक्षको उजागर गर्ने र  प्रजातान्त्रिक बहस/छलफल अगाडि बढाउन गतिलो प्लेटफर्म/माध्यमका रुपमा लिइन्छ । आजसम्म सबैभन्दा बढी उपयोग भएको सञ्चार माध्यमका रुपमा रेडियो माध्यमनै अग्रस्थानमा पर्दछ । यसरी सबै सञ्चार माध्यम भन्दा अघि आउनुमा रेडियोले समाजको विविध अनुभवलाई सबै सामु ऐना सरह उतार्न सक्नु,  आपसमा बाँड्न सक्नु र  सबै वर्ग/क्षेत्र/लिङ्गका आवाजहरुलाई प्रतिनिधित्व गर्न सक्नु नै मुख्य कारणहरु हुन् ।

रेडियो स्टेशनहरुले थरी थरीका समुदायहरुलाई सेवा दिन सक्छन यसरी फरक फरक कार्यक्रम र श्रव्य सामग्रीहरु मार्फत रेडियोले सेवा प्रदान गर्दै आएको सय वर्ष वितिसक्दा पनि सञ्चारका अन्य माध्यमहरु भन्दा यो माध्यमको सहजता/छरितोपना र निरन्तरता जस्ता गुणहरुले गर्दा रेडियोले आफ्नो वर्चस्व कायमै राखेको छ । संसारभरका रेडियोका प्रकृति तर्फ ध्यान दिने हो भने  Commercial, Public and Non Profit जस्ता विशेषताहरु भेटिन्छन् । व्यावसायिक रेडियो, सार्वजनिक रेडियो र सामुदायिक वा नाफा नकमाउने रेडियो यी सबै खालका रेडियोहरुले विगत देखि वर्तमानसम्म पनि विश्व रेडियो दिवसको नारासंग सम्बन्धित विषयहरु कुनै न कुनै रुपमा उत्पादन तथा प्रसारण गर्दै आएको तथ्य हाम्रा सामु छर्लङ्ग छ ।  

रेडियो सजिलो र सस्तो आमसञ्चार माध्यमको साधन हो जुन दुरदराजमा जोखिममा रहेका र साधन श्रोतको पहुँचमा नरहेका समुदाय समक्ष सजिलै पुग्न सक्छ । यसले  मानिसहरुलाई सार्वजनिक बहसमा सहभागी गराउन तथा समस्या र चुनौतिहरुलाई सरोकारवाला समक्ष पुर्‍याउन एउटा प्रभावकारी माध्यमको रुपमा महत्वपूर्ण भुमिका खेल्न सक्दछ ।

रेडियोले समुदायहरुलाई एक आपसमा जोड्न पनि सक्छ र परिवर्तनका लागि सकारात्मक छलफल अगाडि बढाउन पनि सक्दछ । अझ भन्ने हो भने हामीले भोगीरहेका समस्याहरुलाई उजागर गर्न सक्दछ जुन समाधानका लागि अचुक उपाय पनि हुन सक्दछ । यद्यपि वर्तमानमा बढ्दै गएको  डिजिटल प्लेटफर्म, डिजिटल डिभाइड, सामाजिक सञ्जाल, सेन्सरसीप, आर्थिक मन्दी लगायतका कारणले रेडियोहरुले आफूलाई आत्मनिर्भर बनाउने सन्दर्भमा भने चुनौति खेपी रहनु परेको छ ।

विश्व रेडियो दिवसले रेडियोहरुको शताब्दीको इतिहास तथा रेडियोहरुको योगदानलाई यी माध्यमहरुबाट प्रसारित कार्यक्रम, समाचार, नाटक, गीत संगीत, खेलकुद लगायतका क्षेत्रमा गतिलो प्रभाव छोड्न सकेको छ । यसका साथै संकटका बेला, विपदका बेला, महामारीका बेला र प्राकृतिक प्रकोपका बेला समेत रेडियोहरुले खेलेको भुमिकालाई सदा सर्वदा सम्झिने गरिन्छ । आउँदा दिनमा रेडियोहरुले प्रजातान्त्रिक मूल्य/मान्यताहरुलाई आत्मसाथ गर्दै सिमान्तकृत, बेसहारा तथा अल्पसंख्यक र शरणार्थीहरुका लागि समेत आवाज बुलन्द गर्दै जानुपर्ने टड्कारो आवश्यकता छ ।

नेपालमा रेडियोको अवस्था

सूचना तथा प्रसारण विभागको पछिल्लो अभिलेख अनुसार नेपालमा एफ.एम. ७१४ नियमित प्रसारण र इजाजत प्राप्त एफ.एम. रेडियोको संख्या ११८६ पुगेको छ । नेपालका रेडियोहरुमा रेडियो नेपाल अग्रणी रेडियो प्रासारण संस्थाको रुपमा विगतदेखि नै क्रियाशिल छ । वि.सं. २०५२सालमा नेपालमा पनि एफ.एम. प्रविधिमा प्रसारण शुरु भएदेखि एफ.एम. रेडयोहरुको मनग्गे विस्तार र विकास भएको पाइन्छ ।

संसारका रेडियोहरुले झैं नेपालका रेडियोहरुले पनि मुख्यत सूचना/समाचार, शिक्षा मूलक/जनचेतना मूलक र मनोरञ्जनात्मक सामग्रीहरु नै पस्कंदै आएका छन् । यद्यपि यस्ता सामग्रीहरुमा प्रसारण समय र फरम्याटका हिसावले विविधता पाइन्छ । सामान्यतया नेपालका एफ.एम. रेडियोहरु कानूनी रुपमा नभएपनि कार्य प्रकृति र विषयवस्तु प्रसारणका हिसावले सार्वजनिक, सामुदायिक, व्यावसायिक र निजी प्रकृतिका देखिन्छन् । यद्यपि रेडियोहरुको वर्गीकरण राष्ट्रिय आमसञ्चार नीति२०७३ ले उल्लेख गरे जस्तो गरी व्यवहारमा आउन सकेको छैन ।

नेपाल बहुदलिय लोकतान्त्रिक व्यवस्था देखि संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्थासम्म आउने क्रममा रेडियोहरुको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको पाइन्छ । यसरी नेपाली समाजको अभिव्यक्ति स्वतन्तत्रता र सूचनाको हकलाई व्यवहारमा ल्याउने देखि समाज रुपान्तरणको प्रकृया सम्म नेपाली रेडियोहरुले महत्वपूर्ण भुमिका खेलेका छन ।

हरेक प्रदेश र धेरै जसो स्थानीय तहमा रहेका एफ.एम. रेडियोहरुले नागरिक सचेतना अभिवृद्धि गर्न र सरोकारवालाहरुको मागलाई सरकार समक्ष पुर्‍याउन, सुशासन कायम गर्न पहरेदारको भुमिका पनि निभाएका छन् । आजसम्म आइपुग्दा हरेक रेडियोका एप, अनलाइन न्युज पोर्टल र सोसल साइटले गर्दा त साच्चै भन्ने हो भने सूचना र जागरणको बाढी नै आएको छ भन्नुमा अतियुक्ति नहोला । यद्यपि सीमित विज्ञापन बजार, प्रतिस्पर्धीहरुको संख्यामा वृद्धि, व्यावसायिकताको कमी, राजनीतिक लक्ष्य अनुरुपको प्रसारण, कार्यक्रमको मूल्याङ्कन र प्रभावकारीतामा कमी जस्ता कारणहरुले साथै देश भित्रको आर्थिक क्रियाकलापमा पर्याप्त सुधार भइनसकेको कारण पनि रेडियोहरुले आफूलाई सक्षम र सवल बनाउनमा कठिनाई भोग्दै आएका छन् ।

नेपाल ग्रामिण तथा शहरी क्षेत्रको श्रेणिगत वर्गीकरण प्रतिवेदन (जनगणना २०७८) अनुसार स्थानीय तहका वडालाई वर्गीकरण गर्दा शहरी श्रेणीमा सबैभन्दा बढी वाग्मती प्रदेशका (२९२), शहरउन्मुख श्रेणीमा सबै भन्दा बढी मधेश प्रदेशमा (९७) र ग्रामिण श्रेणीमा सबैभन्दा भढी कोशी प्रदेशका (७२७) रहेका छन् जसमा रेडियोहरुको पहुँच मनग्गे पुगेको कारण शहरी र शहरउन्मुख जनसंख्याको घनत्व बढी रहेका स्थानहरुमा रेडियोहरुको उपस्थिति पनि राम्रैसंग पुगेको पाइन्छ । 

यसैबीचमा सरकारी रेडियोका रुपमा ९३ प्रतिशत जनसंख्यामा पहुँच पुर्‍याउन सक्षम रेडियो नेपालाई नेपाल सरकारले सार्वजनिक प्रसारण संस्थाका रुपमा अघि लैजाने नीति ल्याएको छ भने अन्य एफ.एम. रेडियोहरुलाई वर्गीकरण गरी व्यावसायिक र नीजि तथा सामुदायिक प्रकृतिमा राखेर सोही अनुसारका क्रियाकलापहरुको अपेक्षा गरेको छ । नेपालमा अझै पनि मिडिया साक्षरताको कमीका कारण प्रसारित विषयवस्तुको पहुँच विश्लेषण र त्यसको प्रभावको सहजै आङ्कलन गर्न सबै उपभोक्ता सक्षम नभइसकेका  कारण रेडियोहरुबाट प्रसारण हुने सामग्रीहरुको उचित मूल्याङ्कन र पहिचान हुन नसकेको अवस्था पनि विद्यमान छ ।यसै पनि देशको १५ वर्ष माथिको साक्षरता दर ७६प्रतिशत मात्र हुनु अर्को पक्ष  त छंदैछ ।

सन् २०२२ को शेयरकाष्ट नामक गैह्र सरकारी संस्थाको एक सर्वेक्षण अनुसार नेपालमा ६३प्रतिशत जनसंख्याले इन्टरनेटको प्रयोग गर्दै आएको र रेडियो सुन्ने ढाँचामा पनि परिवर्तन आएको हुँदा ४३ प्रतिशत जनसंख्यामा रेडियोको पहुँच रहेको देखिन्छ । रेडियो अब डिजिटल प्लेटफर्म (वेभसाइट, एप, अनलाइन, सोसल मिडिया आदि) बाट सुन्ने, हेर्ने, पढ्ने क्रम बढ्दो छ । यसले गर्दा परम्परागत रेडियोहरुले पनि आफ्नै डिजिटल प्लेटफर्ममा कार्यक्रम/समाचार लगायतका श्रव्य सामग्रीहरु प्रसारण गर्न नसकेको खण्डमा श्रोता/दर्शक गुमाउने खतरा छ ।

चर्को प्रतिस्पर्धाका कारण व्यवसायिक प्रसारक र प्रसारण संस्था बनेर निरन्तरता दिन हम्मे हम्मे परेका अवस्थामा पनि विश्व रेडियो दिवस २०२४ को मूल वाक्य शताब्दीऔं देखि रेडियोले प्रदान गर्दै आएको सूचित गर्ने, स्वस्थ मनोरञ्जन दिने र शिक्षाप्रद जानकारी उपलब्ध गराउने कार्यमा नेपालका रेडियोहरु लागी परेकै छन् । यो दिवसले समग्र रेडियो र रेडियोकर्मीहरुलाई आफ्नो गन्तव्यमा पुग्न थप बल मिलोस, अस्तु । विश्व रेडियो दिवसको सबैमा शुभकामना ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button