तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल : अध्यक्ष प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको बताउनुभएको छ ।

पार्टीको केन्द्रिय समिति बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टमाथिको संश्लेषणसहितको आफ्नो धारणा राख्ने क्रममा अध्यक्ष प्रचण्डले अभियान सफल भएको बताउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले अभियानमा राम्रोसँग खट्नेलाई सम्मान र १० प्रतिशत पनि समय नदिने नेताहरूलाई कारबाही गर्ने बताउनुभयो । सबै प्रदेशका इन्चार्जहरूलाई भोलि या पर्सीसम्ममा आ–आफ्नो प्रदेश समितिको रिपोर्ट दिन निर्देशन दिँदै अध्यक्ष प्रचण्डले रिपोर्टका आधारमा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरी अघि बढ्ने जानकारी गराउनुभयो ।

अध्यक्ष प्रचण्डले छुट्टाछुट्टै अभियान तराई मधेस जागरण अभियान र उत्तर–दक्षिण अभियान चलाउने जानकारी गराउँदै अध्यक्ष प्रचण्डले उत्तर दक्षिण अभियानले हिमाल पहाड र तराईलाई जोड्ने तथा तराई मधेस जागरण अभियानले पार्टीको सङ्गठन सुदृढीकरणमा सघाउ पुग्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बैठकलाई सम्बोधन गर्ने क्रममा काँग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गर्दै कोशी प्रदेशमा काँग्रेसबाट भएको अन्तर्घात र विभिन्न घटनाक्रमहरूले गठबन्धन लाभदायक बन्न नसकेको बताउनुभयो ।

आइतबारदेखि सुरु केन्द्रिय समिति बैठकको पहिलो दिन सात वटै प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय समिति र प्रवास समितिका इन्चार्जहरूले पार्टीको चार महिने अभियानबारे रिपोर्टिङ गर्नुभएको थियो ।

बैठकमा नेताहरूले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताउनुभएको थियो । बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल भएको छ ।

बैठकअघि प्रचण्डले आजै विधानमा साझा समझदारी बनाउन पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो । माओवादी केन्द्रले आगामी भोलिदेखि तीन दिन काठमाडौँमा विधान सम्मेलन गर्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button