तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार न्युनिकरण, भ्रष्टाचारविरुद्ध शुरु गरिएका अभियान निष्कर्षमा पुर्‍याउनुपर्ने, न्यायालयको सुधार, भूकम्प प्रभावितका लागि आवास निर्माण लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले देशमा सुशासन कायम गर्न एउटा शक्तिशाली न्यायिक आयोग बनाएर सबै राजनीतिक दलको शीर्ष नेताको सम्पत्ति जाँच गरी सम्पत्ति राष्ट्रियकरण गर्ने आट गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारको सम्पत्तिको संरक्षण, राष्ट्रको सुरक्षा, देशको समृद्धि र भ्रष्टाचारको अन्त्यका लागि सरकारले सुरु गरेको अभियान पुरा गर्न सबैले साथ दिनुपर्ने बताउनुभयो ।

नेकपा एमालेका सांसद कुमार दशौदीले सरकारले जनताको आशा र भरोसा बढाउने गरी राज्यका हरेक क्षेत्रमा सुधार गर्नु पर्ने, जाजरकोट र रुकुमका भूकम्पबाट भत्किएका घर समयमा बनाउने विषयमा समयमा नै ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्रीबाट आए जस्तै सबै राजनीतिक दलको नेतृत्वबाट भ्रष्टाचार न्युनिकरणका लागि प्रतिबद्धता आउनुपर्ने, भ्रष्ट व्यक्तिलाई राजनीतिक नेतृत्व आउन नदिने, सांसद नबनाउने र मन्त्री समेत बन्न नदिने कुरामा प्रतिबद्ध बन्न राजनीतिक दलका नेतृत्वलाई आग्रह गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरेले शान्ती प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुङ्ग्याएर समाजमा न्याय स्थापन गर्न, लैङ्गिक उत्तरदायी बजेट ल्याउन, राष्ट्रिय गौरबको आयोजना समयमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नारायण प्रसाद दाहालले भ्रष्टाचारको विरुद्धमा, जनताको पक्षमा सरकारले काम शुरु गरिरहेको समयमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आफ्नो दायित्व र भूमिका पुरा गर्नु आवश्यक रहेको बताउनुभयो ।    

सांसदहरुले जनताका समस्या, राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर बहस र छलफल गर्ने र सरकारलाई सुझाव दिएर राष्ट्रियसभाको गरिमा बढाउने कुरामा राष्ट्रियसभा र यसका सदस्यहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सांसदहरुले सरकार जनताप्रति जबाफदेही बन्नुपर्ने, भ्रष्टाचारको फाइलहरू खोल्दा व्यक्तिको अनुहार हेर्न नहुने, संविधान अनुकूल बनाउन आवश्यक कानुन सम्बन्धी विधेयकहरू समयमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button