तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको राप्तीमा प्रथम सोनाम ल्होसार सांस्कृतिक महोत्सव हुँदै 

चितवन  । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ९ वानग्रुपमा तामाङ समुदायको सांस्कृतिक पर्व मञ्जु श्री सम्बत २८६० डुकः ल्हो (गुरुङ वर्ग) सोनाम ल्होसारको अवसरमा प्रथम राप्ती सोनाम ल्होसार सांस्कृतिक महोत्सव २०८० हुने भएको छ ।

यही माघ २४ गते देखि २७ गते सम्म हुने महोत्सव श्रीच्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा गुम्बा परिसरमा हुने भएको हो । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि सांस्कृतिक उत्सवको तयारी र उद्देश्यका बारेमा जानकारी दिएको छ ।

पुरानो ल्हो (बिरालो वर्ग) को बिदाई र नयाँ ल्हो (गुरुङ वर्ग) को स्वागतको रुपना तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै आएका छन् । तामाङ समुदायको परम्परागत संस्कृति जोगाउन र गुम्बालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको श्रीच्योमदेन दे ढा च्योम गुम्बाका अध्यक्ष देवराज लामाले जानकारी दिनुभयो  ।

सोनाम ल्होसारलाई थप विशेष बनाउन र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक पर्वको रुपमा विकास गरी स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरूको खरिद बिक्री, विभिन्न मौलिक खानपिन तथा परिकारहरूको बिक्री वितरण र स्थानीय व्यवसायीहरूको व्यापार व्यवसाय तथा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । चार दिन सम्म चल्ने महोत्सवमा तामाङ सांस्कृतिक कला प्रवर्द्धन हुनेगरी विभिन्न सांस्कृतिक गतिविधिहरू गरिने छ।

जसमा तामाङ मौलिक खानेकुराहरू, भेषभुषा तथा विभिन्न स्थानीय उत्पादनका सामानहरू लगायतको स्टलहरू रहने छन् । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिका साथै तामाङ समुदायको लोपोन्मुख मौलिक बाजा डम्फु सेलो, खान्दोकी सेलो, म्हेंन्दो माया सेलो, फापरे सेलो र स्थानीय ब्याण्डहरूको प्रस्तुति लामाले बताउनु भयो । 

महोत्सवमा चितवन जिल्ला भरिको तामाङ तथा गैर तामाङ, छिमेकी पालिकाहरू राक्सिराङ, मनहरीबाट करिब ५० हजार दर्शकले अवलोकन गर्ने र करिब १ करोड १० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवको मुनाफाबाट गुम्बाको प्राङ्गणमा २० फिट अग्लो बुद्धको मूर्ति स्थापन गरिने छ । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित सेलो गायक उर्गेन दोङ, विशाल काल्देन, जितु लोप्चन, एलिना चौहान, श्याम राना, चिज तामाङ, रेखा लामा, ज्योति मगर, सरोज लामिछाने, हास्य कलाकार हर्के हवल्दार, द एक्स ब्याण्डको प्रस्तुती रहने छ । महोत्सवको नेपाल तामाङ घेदुङ संघ जिल्ला समिति र राप्ती नगर समिति संरक्षक रहेको  छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सचिव गोमन सिंह लामाले सोनाम ल्होसारको सांस्कृतिक महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button