तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी मल्ल सहित ४ जना पत्रकार सम्मानित 

मुगु । मुगु जिल्ला स्थित छायानाथ रारा नगरपालिकाले ४ जना पत्रकारलाई सम्मान गरेको छ । शुक्रवारबाट शुरु भएको आफ्नो १४ औ नगरसभामा लामो समय देखि मुगु जिल्लाको पत्रकारिता योगदान दिएका क्रियाशील चार जना पत्रकारहरूलाई नगरपालिकाले  सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा राष्ट्रिय समाचार समिति मुगु समाचारदाता नृपेन्द्र बहादुर मल्ल, रेडियो नेपाल मुगु समाचारदाता विनोद कुमार मल्ल, अन्नपूर्ण पोष्ट मुगु समाचारदाता जीवन सेजुबाल र न्युज मुगु समाचारदाता दान बहादुर बुढा रहेका छन् ।

सम्मानित चारै जना पत्रकारलाई नगरप्रमुख विष्णुकुमार भामले सम्मान पत्र सहित जनही ५  हजारका दरले नगद सम्मान रकम हस्तान्तरण गर्नु भएको थियो । सम्मान कार्यक्रम पछि बोल्दै नगरप्रमुख भामले आफू जाने बुझ्ने भए देखी मुगु जिल्लाका आवश्यकता, जनगुनासा, विकास, स्वास्थ्य, जनजीवन, धार्मिक, सांस्कृतिक, पर्यटन, खेलकुद, अपराध, शान्तिसुरक्षा, विभेद, भष्टचार, सुशासन, लगायतका क्षेत्र सम्मानित पत्रकारहरूले कलम चलाएका समाचार पढ्दै, सुन्दै र हेर्दै आएको बताउँदै पत्रकारहरू समाज र जन प्रतिनिधिका लागिका ऐनाका साथै मध्यस्थकर्ता भएको बताउनु भयो । 

हामी जनप्रतिनिधि काम र व्यस्तताले कहाँ के भइरहेको छ ? थाहा पाइरहेका हुँदैनौ, आफ्ना काम कारबाही जनता सामु कति प्रभावकारी भइरहेका छन् ? जनताका माग,गुनासा के छन् ? आफ्ना बारे दुनियाँले के मूल्याङ्कन गरेका छन् जानकारी  गराउने माध्यम नै पत्रकार भएको र नगरपालिकामा पत्रकारिताको पेशागत विकास,सक्षमता,सुरक्षा , व्यवस्थापकीय सुधारका लागि नीतिगत  रुपमा नेपाल पत्रकार महासङ्ग मुगुको समन्वयमा निकट भविष्य मै छायानाथ रारा नगर सञ्चार नीति ल्याउने नगर प्रमुख भामले  घोषणा गर्नुभयो । 

लामो समय देखि पत्रकारितामा लागेपनी स्थानीय सरकारहरूले कहिल्यै यसरी सम्झेका थिएनन् । हाम्रै समाचारका प्रभावले कति विकास भए,कतिले न्याय पाए, कतिले राहत, उपचार, सहयोग पाए, पर्यटकीय क्षेत्र, जिल्लाको प्रचार भयो, सुशासन कायम गर्न र भष्टचार नियन्त्रणमा टेवा पुग्यो अनि राज्यसँग मुगुका समस्या,माग समस्या पुग्यो र सुन्यो आज आएर नगरपालिकाले हाम्रो योगदानको कदर गर्दै सम्मान गरेकोमा धन्यवाद सम्मानले पत्रकारितामा अझै पेचिलो रूप लागि सत्य, तथ्य र निष्पक्ष समाचार लेख्न दबाब र हौसला मिलेको रासस जिल्ला समाचारदाता नृपेन्द्र बहादुर मल्लले बताउनु भयो ।

मल्ल २० वर्ष देखि राससमा आबद्ध रही मुगु जिल्लामा क्रियाशील पत्रकारिता गरिरहनु भएको छ । यस्तै विनोद कुमार मल्ल २५ वर्ष, जीवन सेजुवाल २२ वर्ष र दान बहादुर बुढा १५ वर्ष देखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । 

छायानाथ रारा नगरपालिकाको १४ औ नगरसभाको उद्घाटन सत्र कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री तथा प्रदेश सदस्य जित बहादुर मल्लको प्रमुख आथित्यता र नगरप्रमुख विष्णु कुमार भामको सभाध्यक्षमा बिहीबार सम्पन्न भएको थियो । शुक्रवारबाट नयाँ र संशोधित विधेयक बारे दफावार छलफल शुरु हुने नगरप्रमुख भामले जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button