तपाईँ सुन्दै हुनुहुन्छः

शम्भुनाथका ६१ भूमिहीनलाई लालपूर्जा वितरण

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाका ६१ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पत्र वितरण गरिएको छ।

बिहीबार शम्भुनाथ नगरपालिका २ का वडा अध्यक्ष दुर्गानन्द भगतको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीका विज्ञ सदस्य पञ्चदेव चौधरीको प्रमुख आतिथ्यमा  भूमिहीनहरूलाई जग्गाधनी प्रमाण वितरण गरिएको हो।

शम्भुनाथ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा ५० जना भूमिहीन दलित र ११ जना भूमिहीन सुकुम्बासी गरि ६१ जनालाई प्रमुख अतिथि चौधरी, आयोगका सदस्य हरिनारायण महतो, अनार देवी चौधरी, वडा अध्यक्ष भगतलगायतकाले जग्गाधनी प्रमाण पत्र वितरण गर्नु भयो ।

प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि चौधरीले देशका तमाम नेपाली नागरिकलाई जग्गाधनी बनाउने राष्ट्रिय अभियानलाई सफल पार्न सबैले सहयोग दिनु पर्नेमा जोड दिनुभयो। सुकुम्बासी मुक्त देश बनाउने उद्देश्यका साथ वर्तमान गठबन्धनको सरकार अगाडि बढेको उल्लेख गर्दै उहाँले यस अभियानको सार्थकताका लागि आयोगले सक्रिय रुपमा काम गरिरहेको बताउनु भयो ।

राष्ट्रिय भूमि आयोग सप्तरीका सदस्य हरिनारायण महतोले लालपुर्जा वितरणको कार्यलाई तीव्रता दिन आग्रह गर्नुभयो। नगरपालिकाले जति छिटो प्रक्रिया अगाडि बढाउन सक्छ त्यही गतिमा आयोगले सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो।

राष्ट्रिय भूमि आयोगकी सदस्य अनार कुमारी चौधरीले २२ औँ आयोगका रुपमा रहेको यस समितिले लालपुर्जा वितरण कार्यलाई प्रभावकारी रूपले अगाडि बढाएको बताइन्। गलत विवरण पेश गरेकालाई छानबिन गरि उनीहरुलाई सहभागी नगराउने बताउँदै उहाँले आयोगले वास्तविक भूमिहीनहरूको पहिचान गरेर लालपुर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button