तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्षपछि सञ्चालनमा आयो सल्यान अस्पतालमा अक्सिजन प्लान्ट

सल्यान । दुई वर्षअघि सल्यान जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । 

बिजुलीको भोल्टेज कम भएका कारण थन्किएको प्लान्ट विद्युत् प्राधिकरणले १०० केभीको ट्रान्सफर्मर जडान गरेपछि संघीय सरकारको अनुदानमा प्राप्त प्लान्ट सञ्चालनमा आएको हो ।

कोरोना महामारीका समयमा अक्सिजन अभावमा सङ्क्रमितको मृत्यु हुन थालेपछि संघीय सरकारको ७१ लाख रुपैयाँ अनुदानमा प्लान्ट निर्माण गरिएको थियो । 

दैनिक ४० लिटरको सिलिन्डर दैनिक ४० देखि ४८ थानसम्म भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट २०७८ असारमा जडान गरिएको थियो । विद्युतको भोल्टेज नपुग्ने र जेनरेटरबाट आर्थिक भार थेग्न नसक्ने भएपछि जडान गरेको झन्डै दुई वर्षपछि मात्र अक्सिजन प्लान्ट सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताउनुभयो । 

अक्सिजन प्लान्ट सञ्चालन गर्न २२० केभीए भोल्टेज चाहिनेमा प्राधिकरणले अस्पताल परिसरमा जडान गरेको ५० केभीको ट्रान्सफर्मरबाट २०० भन्दा कम भोल्टेज आउने गर्दा विगतमा सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाई छ । 

अक्सिजन प्लान्ट नियमित सञ्चालनमा आउन थालेपछि अस्पतालमा भर्ना हुन आउने बिरामीको लागि खाली सिलिन्डर भर्न नेपालगन्ज जानुपर्ने बाध्यताको अन्त्य भएको डा. बुढाको भनाई छ ।

अस्पताल विकास समिति अध्यक्ष प्रमोदकुमार श्रेष्ठले अब जिल्लाका निजी अस्पतालका लागि समेत अक्सिजन उत्पादन गरेर बिक्री गर्न सकिने बताउनुभयो । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि प्रतिसिलिन्डर भर्न खर्च लाग्ने एक हजार रुपैयाँ पनि बचत भएको उहाँले बताउनुभयो । निमोनियाका बिरामीलाई भने कन्सन्टेटर प्रयोग गर्दै आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button