तपाईँ सुन्दै हुनुहुन्छः

रूसद्वारा सबैभन्दा बढी तेल चीन र भारततर्फ निर्यात

मस्को। युक्रेन द्वन्द्वका कारण पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको करिब दुई वर्षपछि रूसले यूरोपको सट्टा चीन र भारततर्फ इन्धन निर्यात गर्न पुनः निर्देशन दिएको उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बुधबार बताउनुभएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेन आक्रमणका लागि रूसी सेना पठाएपछि पश्चिमा देशहरूले रूसको समुद्री तेल आपूर्तिमा यूरोपेली सङ्घ (ईयू) सहितका मुलुकहले विभिन्न प्रतिबन्धहरू लगाएका थिए ।

“हामीले पहिले यूरोपमा कूल ४० देखि ४५ प्रतिशत तेल र ग्यास उत्पादन आपूर्ति गरेका थियौँ,” ऊर्जा नीतिका प्रमुख नोभाकले भन्नुभयो ।

“यो वर्ष यो सङ्ख्या कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा बढी नहुने हाम्रो अनुमान छ,” नोभाकले एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो ।

यूरोपमा आफ्नो बजार हिस्सा गुमाइरहेको बेला मस्कोले चीनलगायत अन्य क्रेताहरूलाई आकर्षित गरेको छ ।

नोभाकले भन्नुभयो, “तेल निर्यातका लागि चीनको हिस्सा ४५–५० प्रतिशत पुगेको छ र भारत वर्तमान अवस्थामा हाम्रो मुख्य साझेदार बनेको छ ।”

भारतले पहिले करिब करिब कत्ति पनि माल प्राप्त गरेको थिएन तर अहिले एक प्रमुख खरीददार बनेको छ ।

“दुई वर्षको अवधिमा भारतलाई आपूर्तिको कूल हिस्सा करिब ४० प्रतिशत पुगेको छ,” नोभाकले भन्नुभयो ।

रिपोर्ट अनुसार भारतले रूसबाट छुट पाएको कच्चा तेललाई परिष्कृत गरेर यूरोपेली ग्राहकलाई बिक्री गर्न सफल भएको छ ।

यद्यपि यी बिक्रीहरू वैध छन् । यो रूसी तेलको लागि पर्दा पछाडिको मार्ग हो र यसले यूरोपमा प्रतिबन्धहरूको प्रभावलाई कमजोर पार्ने आलोचकहरूले बताएका छन् ।

मस्कोले ईयू राष्ट्रहरूमा आफ्नो निर्यात कटौती गरेपछि रूसले पनि आफ्नो प्राकृतिक ग्याँस निर्यातको लागि नयाँ बजारहरू फेला पार्नुपरेको छ, जसले नयाँ आपूर्तिकर्ताहरूको पनि खोजी गरेको छ ।

नोभाकले सन् २०२३ मा प्रतिबन्धका बावजुद रूसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताउनुभयो ।

नोभाकले रूसको तेल र ग्याँसबाट यस वर्ष करिब नौ ट्रिलियन रुबल (९८ अर्ब अमेरिकी डलर) आम्दानी हुने अपेक्षा गर्नुभएको छ ।

नोभाकका अनुसार तेल र ग्यास उद्योगले रूसको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ, जसले रूसको निर्यात राजस्वको ५७ प्रतिशत ओगटेको छ ।

नोभाकले रूस अन्य खरिदकर्ताका लागि खुला रहेको पनि बताउनुभएको छ ।

“विश्वमा खासगरी ल्याटिन अमेरिकी, अफ्रिकी र एशिया–प्रशान्त क्षेत्रका अन्य देश गरी धेरै मुलुकले रूसी तेल खरिद् गर्न चाहन्छन् ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button