तपाईँ सुन्दै हुनुहुन्छः

रुसी सेनामा कार्यरत ६ नेपालीको निधन

काठमाडौँ । रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी ६ जना नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको जनाएको छ ।

सरकार दिवंगतहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ ।

नेपाल सरकारले रुस सरकारलाई मृतकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।

मृत्यु हुनेहरूमा गोरखाका सन्दिप थपलिया, वाणगंगा–१ कपिलवस्तुका रूपक कार्की, पोखराका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ्ग–६, दोलखाका राज कुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका विज्ञप्तिमा जनाइएको छ ।

सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ ।

त्यसैगरी, सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य नागरिकहरूलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने No Objection Certificate NOC लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको छ ।

कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button