तपाईँ सुन्दै हुनुहुन्छः

मुसिकोट–१, जन्तीबस्ने लेकबाट रेडियो नेपालको एफ एम परीक्षण प्रसारण

काठमाडौँ । रेडियो नेपालले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १ स्थित जन्तीवस्ने लेकमा स्थापित एफ एम रिले स्टेशनबाट आजदेखी परीक्षण प्रसारण सुरु गरेको छ ।

रेडियो नेपालको प्रसारण एफ एम ब्यान्डमा विस्तार गर्ने उद्देश्यले जन्तीवस्ने लेकमा ५०० वाट क्षमताको ट्रान्समिटर जडान गरी परीक्षण प्रसारण सुरु गरिएको हो ।

नेपाल टेलिकमको टावर तथा अन्य भौतिक संरचना प्रयोग गरी सो एफ एम रिले प्रसारण आरम्भ गरिएको रेडियो नेपालबाट जडानका लागि खटिनुभएका जडान टोलीका संयोजक वरिष्ठ प्राविधिक अधिकृत गिरिराज निरौलाले बताउनुभयो ।

एफ एम ब्यान्डको ९८ मेगाहर्जमा रुकुम पश्चिममा सुरु गरिएको प्रसारणबाट रेडियो नेपालको प्रसारण रुकुम पश्चिमका प्रायः सबै भूभाग सहित रुकुम पूर्व, डोल्पा, जाजरकोट, सुर्खेत सल्यान, रोल्पा र बागलुङको केही भूभागहरूमा समेत एफ एममा सहज रुपमा सुन्न सकिने भएको छ ।

यससँगै रेडियो नेपालका एफ एम रिले स्टेशनको सङ्ख्या ३१ पुगेको छ ।

देशका सबै भूभागमा रेडियो नेपालको प्रसारण पहुँच पुर्‍याउने लक्ष्यका साथ चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार प्रसारण पहुँच नपुगेका अन्य क्षेत्रहरूमा पनि एफ एम प्रसारण पुर्‍याउने गरी काम भइरहेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले देशका सबै जनसङ्ख्यामा रेडियो नेपालको पहुँच पुर्‍याउनु रेडियो नेपालको दायित्व रहेकाले सो दायित्व पुरा गर्न रेडियो नेपाल नेपाल सरकारको साथ र सहयोगबाट लागि रहने पनि बताउनुभयो ।

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार रेडियो नेपालको प्रसारण पहुँच कूल जनसङ्ख्याको ९१ प्रतिशत रहेको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १ स्थित जन्तीवस्ने लेकमा स्थापित एफ एम रिले स्टेशन जडान तथा परीक्षण प्रसारणका लागि वरिष्ठ प्राविधिक अधिकृत गिरिराज निरौला सहित प्राविधिक अधिकृतहरू रामकाजी आचार्य, बालमुकुन्द आचार्यका साथै प्राविधिक टोलीमा कृष्ण शर्मा, टोपराज पुरी र गोकुल हमाल सहभागी रहनुभएको छ ।

रेडियो नेपालको प्रसारण हाल मिडियम वेभसँगै एफ एम व्याण्डको ९८, १०० र १०३ मेगा हर्जमा देशका विभिन्न स्थानमा सुन्न सकिन्छ भने वेबसाइट WWW.radionepal.gov.np लग अन गरी रेडियो नेपालको प्रसारण संसार भर सुन्न सकिन्छ । यसका साथै सो अनलाइनमा रेडियो नेपालका समाचार पढ्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button