तपाईँ सुन्दै हुनुहुन्छः

लेखनाथका तालहरूमा मोती उत्पादन शुरु

पोखरा । पोखराका तालहरूमा मोती उत्पादनको प्रचुर सम्भावना देखिएको छ । बेगनास ताल मत्स्य अनुसन्धान केन्द्र बेगनासले विभिन्न चरणमा गरेको अनुसन्धानबाट पोखराका तालहरूमा सिपी पालनको माध्यमबाट मोती उत्पादन गर्न सकिने  र हालका दिनमा मोतीको उत्पादन शुरु भएको केन्द्रका प्रमुख डा. मोहम्मद ईकवाल हुसेनले बताउनुभयो ।

मोतीलाई प्राचीन कालदेखि नै राजा महाराजाहरूले जवाहरत अर्थात् गहनाको रुपमा प्रयोग गर्दै आइरहेको र आज आएर यसको खती गरेर जनताले समेत लगाउन सक्ने अवस्थामा आएको हुसेनले बताउनुभयो । नेपालमा मोती खेती गर्ने प्रविधिको अभाव भएपनि यसको विषयमा धेरै पहिलेदेखि नै अनुसन्धान हुँदै आइरहेको र स्थानीय रुपमा पाईने सिपी पालन गरी मोती उत्पादन गर्न सकिने प्रमाणित भएको बताउनु भयो । 

उहाँका अनुसार माछासँगै मोती उत्पादन गर्ने सिपीको पनि खेती गर्न सकिने भएकोले मोती एक प्राकृतिक मणि (रत्न) हो जुन जीवित प्राणी सिपीले उत्पादन गर्दछ । सिपी खोलानाला, पोखरीमा पाल्न सकिन्छ । यसको बाहिरी प्याकेर मासु  खान पनि सकिने र मोती उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ । 

मोती उत्पादनको लागी सिपीको आवरणभित्र मेन्टल केविटि सर्जरीको माध्यमबाट इमेजको स्वरूप राख्नुपर्ने र त्यसपछि त्यही स्वरूप अनुसार एकदेखि डेढ वर्षको अवधिमा सिपीले मोती भर्ने काम गर्दछ । ती सिपीलाई सानो थैलीमा डोरीको सहायताले एक वर्षसम्म पानीमा राख्नुपर्ने बताउनुभयो । पोखरामा विभिन्न तालहरू विशेष गरेर रुपाताल सिपिपालनको लागी उपयुक्त हुने उहाँले बताउनुभयो ।

अनुसन्धानको क्रममा एक चरणको सफलता मिलिसकेको र यसलाई पुन अनुसन्धानको दायरामा राखी विभिन्न ठाउँहरूमा समेत परिक्षण भइरहेको छ । यसक्रममा इच्छुकलाई तालिम दिइने र किसानहरूलाई समेत तालिम दिएर व्यवसायीक रुपमा सिपिपालन गरि मोती उत्पादन गरिने र लेखनाथलाई सिपी अर्थात् मोतीको हब केन्द्रका रुपमा विकास गर्ने समेत योजना रहेको केन्द्रका प्रमुख हुसेनको योजना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button