तपाईँ सुन्दै हुनुहुन्छः

जिप्रका सुनसरीद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

सुनसरी । नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

हरिनगर गाउँपालिका–४ स्थित ईलाका प्रहरी कार्यालय हरिनगरको प्राङ्गणमा सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

गुनासो व्यवस्थापनका लागि सुनसरीले प्रहरी कार्यालयले प्रदान गर्दै आएको सेवा र चाडपर्व नजिकिएसँग प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा हरिनगर र देवानगंज गाउँपालिकाका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, सीमानाकामा कडाइ, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा सुनसरी प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती अनुसार विशेष सुरक्षा योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले पालिकाभित्र सिसि क्यामरा जडान गर्ने कार्यको थालनी भएको बताउनुभयो । उहाँले जनताको गुनासो सुनेर स्थानीय सरकार र प्रहरी प्रशासनले छिटो छरितो रुपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । नागरिकको गुनासोलाई सम्बोधन हुने गरी सुनसरीमा सुनसरी प्रशासनले काम गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जनतालाई सहज सेवा प्रवाह गर्नका लागि नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो ।

नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने भएकाले सुनसरी प्रहरीले प्रत्येक पालिकामा पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button