तपाईँ सुन्दै हुनुहुन्छः

ठोरी नाका सञ्चालन हुँदा माडी, ठोरी र भरतपुरका स्थानीयलाई राहत

वीरगंज । पर्साको ठोरी नाका आजबाट सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणको कारण ४ बर्ष अघि बन्द भएको छोटी भन्सार कार्यालय ठोरी आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।  

ठोरी नाकाको आज एक कार्यक्रमका बिच बागमती प्रदेशका प्रदेश सभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दहाल, भन्सार विभागका महानिर्देशक ढुण्डी राज निरौला, ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ भएको घोषणा गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रदेश सभा सदस्य ठाकुर ढकालले पर्साको ठोरी र चितवनको माडीको लाइफलाइनको रुपमा रहेको ठोरी नाका स्थायी रुपमा सञ्चालनका लागि सबैको भूमिका प्रभावकारी हुनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले यो नाका अब कुनै हालतमा बन्द नहुने हिसाबले भन्सार विभाग, स्थानीय प्रहरी प्रशासन, सम्बन्धित स्थानीय तहको आपसी समन्वय र सहकार्य हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक ढुण्डी राज निरौलाले देशकै पुरानो ऐतिहासिक नाकाको रुपमा रहेको ठोरी नाका स्थायी रुपमा सञ्चालनका लागि भन्सार विभाग सदैव तत्पर रहेको कुरामा जोड दिनुभयो । 

कार्यक्रममा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिकाले भ्रमण बर्ष २०२४ लाई लक्षित गर्दै ठोरी नाका सञ्चालनका लागि सरकारसँग पहल गर्दै आएकोमा सरकारले ठोरी, माडी र भरतपुरका नागरिकको आवाज सुनेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिला राम पन्थी, माडी नगरपालिकाकी नगर प्रमुख ताराकाजी महतो, उपप्रमुख खेम महतो, ठोरी गाउँपालिकाका प्रमुख लाल बहादुर श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, कर्मचारी, बारा, पर्साका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

पर्सा जिल्लाको दोस्रो नाकाको रुपमा स्थापित ठोरी स्थित छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरि स्तरोन्नति गरिएको समेत वर्षौँ बितिसक्दा पनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगरिदिँदा उक्त छोटी भन्सार कार्यालय लामो समयदेखि बन्द रहेको थियो ।

कोरोना संक्रमण कालमा बन्द नाका ४ बर्ष पछि सञ्चालनमा आएसँगै पर्सा, र चितवनका स्थानीय बासिन्दाहरू लाभान्वित हुने भएका छन् । हाल ठोरी भन्सार कार्यालयमा वीरगन्ज भन्सार कार्यालयले नायब सुब्बा अभिषेक सिंहसहित दुई जना कर्मचारी खटाएर आवश्यक काम कारबाही अगाडी बढाएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिला राम पन्थीले बताउनु भयो । 

भन्सार नाका सञ्चालनमा आएसँगै भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनहरूको प्रवेश अनुमति पत्र सहित भारतबाट आयात गरिने तथा नेपालबाट भारत लैजाने सामानहरूको मूल्याङ्कन र राजस्व बुझ्ने कार्य समेत छोटी भन्सार कार्यालयबाट उपलब्ध हुने प्रमुख भन्सार प्रशासक पन्थीले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button