तपाईँ सुन्दै हुनुहुन्छः

एमाले लुम्बिनीले प्रदेशका सबै जिल्ला अधिवेशन पुसभित्र गर्ने

रुपन्देही ।नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरूको अधिवेशन पुस महिनाभित्र गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको पहिलो पूर्ण बैठकले १२ जिल्लाहरूमध्ये रुकुम पूर्व मंसिरमा र अन्य ११ जिल्लामा पुसभित्र अधिवेशन गर्ने मिति तय गरेको हो ।

भदौ १६ गते प्रदेश कमिटीको अधिवेशनबाट आएको नयाँ नेतृत्वको पहिलो पूर्ण बैठक बिहीबार बसेको हो । कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख अतिथि एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औँ महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले अधिवेशनमा प्रतिस्पर्धालाई स्वभाविक ठानेर प्रतिस्पर्धाबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने गरी योजना बनाउन निर्देशन दिनुभयो । ‘निर्वाचनका बेला प्रतिस्पर्धा स्वभाविक हो भन्ने वातावरण गराउने हो, विधानको प्रयोग गराउनुस् । व्यक्तिलाई केन्द्र मानेर विधान नमिच्नुस् । अवैधानिक कमिटी सूचना पाएको अर्को दिन भङ्ग गरिनेछ ।

हरेकसँग विधान, र नियमावलीका दस्ताबेज हुनुपर्यो, कमिटीको महत्त्व र जिम्मेवारी नहुँदा चाहियो भन्ने काम गर्दा लैजा भन्ने कुरा अराजकता हो’ अर्यालले भन्नुभयो ।सचिव अर्यालले जनतामा एमालेले भनेजस्तो, सोचेजस्तो काम गरेन भन्ने गुनासो बढेको विषयलाई ध्यान दिँदै यसलाई व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने बताउनुभयो ।

बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँड,जनसङ्गठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग सञ्चालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुङ्गो लगाएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो । लुम्बिनीमा सबै भन्दा पहिले अधिवेशन भएकाले जिल्लाहरूको पनि पहिले अधिवेशन सक्ने गरी योजना बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button