तपाईँ सुन्दै हुनुहुन्छः

‘नागरिकलाई भयरहित बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकहरूलाई भयरहित रूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अन्य देशहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरू सामना गर्न सरकार सक्षम रहेको बताउनुभयो ।

उहाँले सरकार सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको र आवश्यक पहल गरिरहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले आवश्यक सबै उपाय अवलम्बन गरी अपराधलाई निरुत्साहित गरिने विश्वास दिलाउनुभयो ।

अपराधीहरूले प्रविधिको दुरुपयोग गरी गैरकानूनी क्रियाकलाप गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्त्व अतुलनीय रहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले उदीयमान खतरासँग प्रभावकारी रूपमा लड्न देशहरूबिच सूचना आदान–प्रदान, खुफिया आदान–प्रदान र क्षमता निर्माणलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले मानवअधिकारको संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । नागरिकहरूलाई भय र शोषणबाट मुक्त हुनसक्ने वातावरण सिर्जना गर्न सबैले मिलेर काम गर्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button