तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग भियतनामका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय महामहिम राजदूत गुएन थान हाईले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा शुभकामना आदानप्रदानका साथै द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटन लगायतका विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले काठमाडौँमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिताले भविष्यमा त्यहाँबाट नेपालमा लगानी भित्र्याउन पहल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल र भियतनामले संयुक्त राष्ट्रसङ्घ लगायतका बहुपक्षीय फोरममा समान विचार राख्ने, एकअर्कालाई सहयोग गर्दै आएको बताउनुभयो ।

भियतनामका राजदूत गुएन थान हाईले नेपाल र भियतनामबिचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै दुई मुलुकबीच सीधा हवाई उडान स्थापनाको गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button