तपाईँ सुन्दै हुनुहुन्छः

‘अनुदान दुरुपयोग हुन नदिन कार्यविधि व्यवस्थित बनाइएको छ’

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले लम्पि स्किनबाट पशुको निधन भई क्षति बेहोर्ने किसानहरूलाई राहत उपलब्ध गराउन मापदण्ड बनिरहेको बताउनुभएको छ ।

file photo

प्रतिनिधि सभाको आजको बैठकको पश्नोत्तरमा मन्त्री डा. भुसालले लम्पि स्किन रोग नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको भन्दै यसबाट क्षति बेहोर्ने किसानलाई मापदण्ड तयार गरी राहत उपलब्ध गराइने बताउनुभयो ।

मन्त्री डा. भुसालले स्वदेशमै रासायनिक मलको उत्पादन गर्ने विषयमा लगानी बोर्ड मार्फत जर्मन कम्पनी र मलेसियन कम्पनीले अनुसन्धान गरिरहेको र प्राप्त नतिजाको आधारमा थप कार्य अघि बढाइने बताउनुभयो ।

मन्त्री डा. भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रीकरण गर्ने सरकारको नीति रहेको भन्दै धान आयातको अंशलाई घटाउनको निम्ति कृषिमा यान्त्रीकरण गरिएको बताउनुभयो ।

मन्त्री डा. भुसालले किसानलाई मल बीउमा अनुदान, माटो परीक्षणमा प्राविधिक सहयोग दिँदै आएको भन्दै अनुदान दुरुपयोग हुन नदिन कार्यविधिलाई थप व्यवस्थित तुल्याइएको बताउनुभयो ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा लगानी गर्नु अनुचित नभएको भन्दै यसमा सबै खाले नागरिकलाई लगानी गर्न पाउने बताउनुभयो ।

मन्त्री डा. महतले शेयर बजारलाई व्यवस्थित तुल्याउन सरकारले नियमित अनुगमन गरिरहेको र कानुनमा रहेका प्रतिबन्धात्मक व्यवस्थाका कारण शेयर बजारमा गिरावट आएको भए संशोधन गर्न सकिने बताउनुभयो ।

मन्त्री डा. महतले कोभिड, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब र पैठारीमा लगाइको प्रतिबन्ध र भुक्तानीमा भएको ढिलाइ, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण राजश्व सङ्कलन अपेक्षित हुन नसकेको बताउनुभयो ।

मन्त्री डा. महतले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै राजश्व वृद्धि गर्नेतर्फ सकारात्मक कामहरू अगाडी बढाइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button