तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्ध प्रदेश तथा सम्मानित प्रदेशवासी बनाउने योजना छ’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्मनिर्भर र समृद्ध प्रदेश तथा सम्मानित प्रदेशवासी बनाउने अभियानमा आफूहरू लागेको बताउनुभएको छ ।

गण्डकी प्रदेशको प्रदेश नीति योजना आयोगले शुक्रबार पोखरामा आयोजना गरेको प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारमा अवधारणा पत्र तर्जुमा सम्बन्धमा अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले प्रदेशको दिगो विकासको लागि आत्मनिर्भर र समृद्ध प्रदेश तथा सम्मानित प्रदेशवासी बनाउने अभियानमा आफूहरू लागेको बताउनुभयो ।

प्रदेशमा आत्मनिर्भर हुने वस्तु तथा सेवाको पहिचान गरी त्यसको प्रवर्द्धनमा प्रदेशको ध्यान जाने बताउँदै उहाँले प्रदेशमा सम्भावना भएका वस्तु उत्पादनमा सरकारको ध्यान जाने दाबी गर्नुभयो ।

प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश तथा सम्मानित प्रदेशवासी बनाउने बाटो के के हुन् त्यसको गहिरो गरी अध्ययन अनुसन्धान गरी अघि बढ्ने मुख्यमन्त्री पाण्डेको भनाई छ । प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्व बढाउँदै कृषि, पर्यटन, ऊर्जा र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button